ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ।
परम्पराअनुसार ललितपुरको पुल्चोकबाट रथ तान्ने कार्य सुरु गरी रथलाई गस्बहालसम्म पुर्याइएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो जात्रामा स्थानीय समुदायको ठूलो सहभागिता रहने गर्दछ।
परम्परागत मान्यताअनुसार मच्छिन्द्रनाथलाई वर्षको छ महिना तस्बहालस्थित मन्दिरमा र बाँकी छ महिना बुङमतीमा राख्ने चलन रहिआएको छ।
रथयात्राको क्रममा मच्छिन्द्रनाथलाई ललितपुर नगरका विभिन्न क्षेत्र हुँदै परिक्रमा गराइन्छ। पुल्चोकबाट सुरु भएको यात्रा गावहाल, सुन्धारा र लगनखेल हुँदै जावलाखेलसम्म पुर्याइन्छ, जहाँ भोटो देखाउने परम्परासहित जात्रा समापन गरिन्छ। त्यसपछि देवतालाई बुङमतीमा लगेर पुनः राखिने परम्परा छ।







