काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)-२ बाट ९ करोड रुपैयाँभन्दा बढी रकम बचत गरेको छ।
क्यानको कार्यसमितिले हालै सम्पन्न बैठकमा एनपीएल-२ को आर्थिक विवरण अनुमोदन गरेको हो। प्रस्तुत विवरण अनुसार, प्रतियोगिताबाट कुल ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको देखिन्छ। त्यसमध्ये २१ करोड ९६ लाख ५ हजार १२१ रुपैयाँ खर्च भइसकेको छ।
आम्दानी वितरणपछि क्यानले करिब २५ करोड ४० लाख रुपैयाँ हातमा पारेको थियो। यस रकमको ५० प्रतिशत फ्रेन्चाइज टिमहरूबीच बाँडफाँड गरिएको थियो, जुन करिब १६ करोड १८ लाख रुपैयाँ बराबरको हुन्छ। बाँकी रकम ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ क्यानको बचतमा पुगेको छ।
कार्यसमिति बैठकमा क्यानको अधिकार सम्पन्न नेपाल प्रिमियर लिग परिचालन परिषद्ले (गभर्निङ काउन्सील) आर्थिक रिपोर्ट पेश गरेको थियो। यस रिपोर्टले संघको वित्तीय पारदर्शिता र व्यवस्थापन प्रक्रियामा सकारात्मक संकेत दिएको छ।
यसरी, एनपीएल–२ ले क्यानको आर्थिक स्थिति बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याएको मूल्यांकन गरिएको छ।








