काठमाडौँ । जनकपुरधाम तथा मधेश प्रदेशका विभिन्न क्षेत्रमा चैती छठ पर्व उल्लासपूर्वक मनाइँदै छ। धार्मिक विधिअनुसार आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरिएको छ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको औपचारिक समापन हुनेछ।
जनकपुरधामका गंगासागर, अर्गजा सागर लगायतका जलाशयहरूमा ठूलो संख्यामा श्रद्धालुहरू भेला भएका छन्। पूजा–अर्चनाका लागि पुगेका व्रतालु तथा भक्तजनहरूको उपस्थिति उल्लेख्य रहेको छ, जसले क्षेत्रलाई धार्मिक वातावरणले भरिपूर्ण बनाएको छ।
परम्परागत मान्यताअनुसार चैती छठ व्रत सम्पन्न गरेमा मनोकामना पूरा हुने र विभिन्न प्रकारका छालासम्बन्धी समस्याबाट जोगिने विश्वास रहिआएको छ। चार दिनसम्म कठोर नियम र अनुशासनसहित मनाइने यो पर्वको प्रारम्भ नहाय-खायबाट हुन्छ। दोस्रो दिन दिनभर उपवास बस्ने र राति सख्खरमा पकाइएको खिर मात्र ग्रहण गर्ने परम्परा छ।
षष्ठी तिथिका दिन व्रतालुहरू निराहार व्रत बसेर साँझ जलाशयमा पुग्छन्। अस्ताउँदो सूर्यलाई स्नान गरी उभिएर अर्घ्य अर्पण गर्ने विधि सम्पन्न गरिन्छ। अर्घ्य अर्पणका क्रममा ठकुवा, भुसुवा, मुला, उखु, भण्टा, केरा, नरिवल लगायतका प्रसाद सामग्री चढाइन्छ।
आज सूर्य अस्ताउनु भन्दा करिब एक घण्टा अघि नै व्रतालुहरू जलाशयमा प्रवेश गरी खष्ठी माताको ध्यानसहित सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ। यसपछि उनीहरू रातभर जागरण बस्ने गर्दछन्।
पर्वको अन्तिम दिन चैत्र शुक्ल सप्तमीका अवसरमा बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि चैती छठ विधिवत् रूपमा सम्पन्न हुने धार्मिक चलन रहेको छ।







