काठमाडौँ । डिलासैनी गाउँपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिमाथि भएको हातपात र धम्कीको घटनाप्रति गाउँपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ।
गाउँपालिकाका अनुसार कार्यालय परिसरमा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम चलिरहेको अवस्थामा दिउँसो करिब ४:३० बजे एक व्यक्ति कार्यालयभित्र प्रवेश गरी आक्रमण गरेको हो।
सो क्रममा गाउँपालिका प्रवक्ता यज्ञ राज भट्ट, कर्मचारीहरू वीरेन्द्र प्रसाद जोशी र प्रदिप कुमार जोशीमाथि आक्रमण भएको जनाइएको छ।
गाउँपालिकाका अनुसार घरधनी वीर सिंह धामी का छोरा दिलेन्द्र धामी ले कार्यालयभित्र प्रवेश गरी आक्रमण गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिएको आरोप छ।
राष्ट्र तथा नागरिक सेवामा समर्पित जनप्रतिनिधि र कर्मचारीमाथि कार्यस्थलमै भएको यस्तो घटनाले समग्र गाउँपालिका परिवारमा त्रास सिर्जना भएको उल्लेख गर्दै गाउँपालिकाले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धानको माग गरेको छ। साथै, संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।








