काठमाडौँ । हुम्लाका उच्च भेगहरूमा हिमपात भएको छ । जसका कारण चिसो उल्लेख्य रूपमा बढेको छ। उत्तरी नाम्खा गाउँपालिका लगायतका उच्च क्षेत्रमा बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै हिमपात सुरु भएको हो।
बिहीबार दिउँसोदेखि मौसम अस्थिर बने पनि शुक्रबार राति तथा बिहान र दिउँसो विभिन्न समयमा हिमपात भएको स्थानीयले बताएका छन्। सदरमुकाम सिमकोट नजिकको छोवाखोर क्षेत्रसहित नाम्खा गाउँपालिकाका धेरैजसो उचाइयुक्त स्थानहरूमा हिमपात भएको जानकारी प्राप्त भएको छ।
स्थानीयवासीको अनुसार सिमकोटभन्दा तल्लो क्षेत्रहरूमा भने वर्षा भएको छ। अझै केही समय वर्षा जारी रहे सिमकोट क्षेत्रमा पनि हिमपात हुने सम्भावना रहेको अनुमान गरिएको छ। नाम्खा गाउँपालिकाका अधिकांश उचाइ भएका स्थानमा निरन्तर हिमपात भइरहेको बताइएको छ।
न्यालु, नारा र लाप्चा क्षेत्रमा हिमपातको मात्रा बढी देखिएको छ भने लिमी क्षेत्रमा पनि हिमपात भएको छ। हिमपातसँगै तापक्रम घट्दा चिसो बढेको स्थानीयको भनाइ छ।
हिमपात र वर्षाका कारण शुक्रबार हवाई उडानहरू प्रभावित भएका छन्। उडान अवरुद्ध हुँदा आवागमनमा समेत असर परेको छ। यद्यपि, बिहीबार बेलुकादेखि भएको वर्षाले जिल्लाका किसानलाई भने राहत पुगेको जनाइएको छ।







