काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीहरू विरुद्ध राज्य संयन्त्रले कडा कानुनी कारबाही गर्न तदारुकता देखाउनुपर्ने बताएकी छन्।
११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली महिलाहरू अझै पनि आधारभूत मानव अधिकारबाट वञ्चित भइरहेको भन्दै चिन्ता व्यक्त गरिन्। घरेलु हिंसा, एसिड आक्रमण, यौन दुर्व्यवहार, बलात्कार र हत्या जस्ता घटनाले सिंगो समाजलाई कलंकित बनाएको उनले भनिन्।
पूर्वराष्ट्रपति भण्डारीले अपराधीहरूले कानुनी छिद्रको फाइदा उठाएर उम्किन नपाउने अवस्था सिर्जना गर्न आवश्यक रहेको औँल्याइन्। उनले नागरिक समाज र महिला अधिकारवादी संगठनहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै पीडितलाई न्याय दिलाउन निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिइन्।
उक्त अवसरमा उनले भनिन्, “बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरू विरुद्ध हदसम्मको कानुनी कारबाही गर्न राज्यले तदारुकता देखाउनु आवश्यक छ। नागरिक समाज र महिला संगठनहरूले निरन्तर आवाज उठाइरहनु अपरिहार्य छ।”
पूर्वराष्ट्रपतिले महिला अधिकारका लागि विगतमा लडेका अग्रज महिलाहरूको साहस र समर्पणलाई स्मरण गर्दै नयाँ पुस्ताले पनि न्याय, समानता र स्वतन्त्रताको पक्षमा निरन्तर सक्रिय रहनुपर्ने आवश्यकता औँल्याइन्।







