काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वरिष्ठ डिभिजनल वन अधिकृतसँग पाँच लाख घुस मागेको कुरा सत्य नभएको बताएका छन्।
वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख घुस मागेको आरोप लगाएका छन्। पाँच लाख दिन नसकेपछि डिभिजनल वन कार्यालय धनगढीको प्रमुख पदबाट आफूलाई हटाइएको भट्टको आरोप छ।
घुस मागेको आरोपपछि मुख्यमन्त्री शाहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूले घुस नमागेको बताउँदै भट्टले लगाएको आरोपमाथि छानबिन गरिदिन आग्रह गरेको मुख्यमन्त्री शाहका प्रमुख स्वकीय सचिव प्रयाग राज खनालले जानकारी दिए।
मुख्यमन्त्री शाहले सम्मेलनमा भने, “छानबिन गर्ने थुप्रै निकाय छन्। तत्काल छानबिन गरिनु आवश्यक छ। म दोषी देखिए कारबाही भोग्न तयार छु। होइन भने जथाभाबी आरोप लगाउने कर्मचारीलाई कारबाही हुनुपर्छ।”
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रमुख सचिव स्तरीय निर्णयबाट साउन ३० गते भट्टको पहलमानपुर सरुवा गरिएको थियो। ऐन विपरीत आफ्नो सरुवा गरिएको भन्दै भट्टले उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए।
अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। केही समयपछि उच्च अदालतले सो आदेश निष्क्रिय गरेपछि वरिष्ठ डिभिजनल वन अधिकृत भट्टलाई प्रदेश वन निर्देशनालयमा तानिएको थियो।







