मेरुदण्ड दुख्ने रोगको अचुक उपचार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मेरुदण्ड दुख्ने रोगको अचुक उपचार


प्रशासन विशेष ब्युरो

२९ असार २०७५, शुक्रबार


मेरुदण्ड (गर्दन, ढाड, कम्मर) दुख्ने समस्या आम नेपालीको साझा समस्या हो । यसबाट विद्यार्थी, गृहिणी तथा कर्मचारीलगायत पीडित छन् । यसको उपचार तथा हेरचाहबारे प्राकृतिक तथा दुखाई विशेषज्ञ डा. सुनिल पौडेलका टिप्स ।

टिप्स नंबर १
नियमित चेकजाँच
हाम्रो समाजमा रोग लाग्नेबित्तिकै उपचार गराउने प्रवृत्ति छैन । सामान्य त हो दुई–चार दिनमा ठिक भइहाल्ला नि भन्ने आम मानिसको मानसिकता छ । मेरुदण्ड दुख्ने बिरामीको हकमा पनि यस्तै हो । सामान्य ढाड दुख्यो भने सुरुमा बिरामी डाक्टरकहाँ जान मान्दैनन् । अलिकति ढाड दुखेको त हो । दुई–चार दिनपछि आफै ठीक भइहाल्ला नि भन्ने बिरामीको मानसिकता हुन्छ । ठूलो समस्या ननिम्तिएसम्म ऊ उपचार गर्न जाँदैन । उपचारमा गरिने हेलचेक्रयाइले नसा च्यापिने समस्या देखिन सक्छ ।

समस्या जति सानो भयो त्यति त्यसलाई बुझ्न र समाधान गर्न सजिलो हुन्छ । त्यसैले यदि ढाड दुख्न सुरु हुनेबित्तिकै सम्बन्धित विशेषज्ञकहाँ गएर चेकजाँच गराउनु उपयुक्त हुन्छ ।

टिप्स २
पोस्चुरल केयर अर्थात् शारीरिक अवस्थाको ख्याल

  • पोस्चरको ख्याल राखे मेरुदण्डको समस्या नै हुँदैन । तर, पोस्चरको ख्याल नराखे अप्रेसन गरे पनि रोग सन्चो हुँदैन ।
  • मेरुदण्डको उपचारमा योभन्दा महत्वपूर्ण केही पनि छैन । शरीरको पोजिसन अथवा शारीरिक अवस्थाको ख्याल राख्नुलाई पोस्चुरल केयर भनिन्छ ।
  • पोस्चुरल केयर गर्दा पाँच कुरा सधैं याद राख्नुपर्छ ।
    • बस्दा चित्रमा जस्तै एकदमै सही पोजिसनमा नै बसौं ।
    • एक पटकमा १५ मिनेटभन्दा बढी नबसौं ।
    • निहुरिएर वा भुँइमा बसेर काम नगरौं ।
    • निहुरिएर कहिलै सामान नउठाऔं ।
    • उठिरहेर काम गर्नुभन्दा यताउती हिँडेर काम गर्ने गरौं ।
  • टेबुल वर्कमा वा कम्प्युटरमा बस्दा कुन पोजिसनमा बस्ने ? कम्प्युटरको मोनिटर कति टाढा राख्ने ? किबोर्ड कहाँनेर राख्ने ? यी सबै चिजमा हामीले ख्याल राख्नुपर्छ । टेबुल वर्कमा आफू बसेको कुर्सीलाई टेबुलभित्र घुसाइ दिनुपर्छ ताकि हामी निहुरिन नपरोस् । टेबुल जति टाढा भयो त्यति निहुरिनपर्ने हुन्छ । काम गर्दा कुर्सीभित्र घुस्यो भने ढाड सिधा राखेरै काम गर्न सकिन्छ । स–साना जस्तै लागे पनि यी महत्वपूर्ण कुरालाई ध्यान दिनुपर्छ ।
  • यदि कुर्सीमा बसिराख्नुभएको छ भने हाम्रो हिप अर्थात् पुट्ठाले कुर्सीको पछाडिको भाग छोएकै हुनुपर्छ तथा यसमाथिको ढाडलाई राम्ररी पछाडि सपोर्ट दिएकै हुनुपर्छ ।
  • कुर्सीमा अगाडि झुक्नुको साटो सिधा बस्नुपर्छ । कुर्सीमा सिधा ९० डिग्रीमा नबसेर हल्का पछाडि सपोर्ट लिएर बस्दा मेरुदण्डमा चाप कम हुन्छ । तर त्यसरी बस्दा हिपले कुर्सीको पछाडि धकेलेकै हुनुपर्छ ।
  • उठिरहनु पर्नेले बरु यताउता हिँडडुल गर्ने थोरै बेर बस्ने वा सम्भव छ भने उठिरहँदाखेरि एउटा खुट्टा स्टुलमा राख्ने गर्नुपर्छ ।
  • लामो समय बसिरहने वा उठिरहने गर्नुहुँदैन । कामको बीचबीचमा हरेक घण्टामा ब्रेक लिएर ५ वा १० पटक हल्का पछाडि उल्टो झुक्ने वा केही तन्काउने खाले व्यायाम गर्नु एकदमै राम्रो हुन्छ ।

♦सामान उठाउँदा कहिल्यै पनि निहुरिएर नउठाउने तथा यसको साटो चित्रमा जस्तै पहिला बस्ने अनि बसेर ढाडलाई सिधा राखेर मात्र सामान समाई उठाउने गर्नुपर्छ । माथिका यी बानीले हाम्रा ७० प्रतिशत ढाडका समस्या हटाउन सकिन्छ ।

♦रोग अनुसारको पोस्चुरल केयर हुन्छन्, जुन विशेषज्ञले मात्र सिकाउन सक्छन् ।

टिप्स ३
एकीकृत चिकित्सा अर्थात् इन्टिग्रेटेड मेडिसिन

मेरुदण्ड दुख्ने रोगका बिरामी उपचार गराउँदा गराउँदै हैरान भएका हुन्छन् । डाक्टरले प्रेस्क्रिपसन गरेको औषधी खाँदा र थेरापी गराउँदा पनि रोग सन्चो हुँदैन । जसरी खाना खाँदा भात, दाल, तरकारी, सलाद, दहीको जरुरत पर्छ, त्यसरी नै थेरापीहरूमा पनि एउटा राम्रो सामन्जस्य रूपमा काम गर्ने खालको कम्बाइन्ड औषधोपचारको जरुरत पर्छ । यो संयोजन राम्रो भएन भनेजस्तै रोग पनि ठिक नहुने हुन सक्छ । औषधोपचारसँग उपयुक्त खानपिन, व्यायाम तथा केयर अनि घरमै गर्न सकिने उपचारहरू पनि सिक्नु जरुरी हुन्छ ।

सर्वप्रथम विशेषज्ञकहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ अनि मात्र सुहाउँदो तथा फाइदा दिने खालका उपचारहरूको एकीकृत उपचार लिनुपर्छ ।

टिप्स ४.
व्यायाम

  • यदि गर्दन, ढाड, कम्मरसम्बन्धि कुनै समस्या छ भने पहिला विशेषज्ञकहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ अनि मात्र सुहाउँदो तथा फाइदा दिने ढाडका व्यायाम मात्र गर्ने गर्नुपर्छ ।
  • दुखेको बेलामा व्यायाम नगर्नुस् ।
  • मेरुदण्ड विशेषज्ञले सिकाएका व्यायाम मात्र गर्नुस् ।
  • कुन खाले व्यायाम, कति गर्ने, स्पष्ट सिकेर मात्र गर्नुस् ।

ढाडलाई स्वस्थ राख्न व्यायामको अर्को विकल्प छैन । तीन किसिमका व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।

१. पसिना निकाल्ने जस्तै हिँड्ने तथा दौडने खाले व्यायाम ।
२. तन्काउने खाले योग वा स्ट्रेचिङखाले व्यायाम ।
३. शरीर तथा ढाड बलियो बनाउनेखाले व्यायाम ।

तर, व्यायाम विशेषज्ञले भने बमोजिम मात्र गर्नुपर्छ ।

टिप्स ५.
खानपान तथा जीवनशैली
ढाडलाई स्वस्थ राख्न खानपानमा ध्यान दिनु एकदमै जरुरी छ । जसरी सम्पूर्ण शरीरका लागि खानपान महत्वपूर्ण हुन्छ, त्यसरी ढाडका लागि पनि प्रशस्त पानी तथा क्याल्सियम भएका शाकाहारी खाना महत्वपूर्ण हुन्छ । यस्का साथै कुलत, चिनी, प्याकेटका जंक वा फास्ट फुडबाट टाढै रहनुपर्छ । भिटामिन डी कम हुने, पानी कम पिउनेमा झस्का पस्ने समस्या आइरहने तथा क्याल्सियमको कमीले हड्डी खिइने हुनसक्छ ।

  • भिटामिन डी

आजभोलिका धेरै मानिसहरूमा भिटामिन डीको कमी छ । जसले गर्दा शरीरमा क्याल्सियम जम्मा हुन सकिरहेको छैन तथा हड्डी कमजोर हुँदै जान्छ वा दुखाई ठिक हुँदैन । भिटामिन डीको लागि सबैभन्दा राम्रो घाम ताप्न सकिन्छ । हप्ताको १५ मिनट दिउँसो कपडा खोलेर नांगो छालामा घाम ताप्नु एकदमै राम्रो हुन्छ । भिटामिन डीका औषधिहरू पनि पाइन्छन् ।

डा. सुनिल पौडेल, संस्थापक निर्देशक, अर्थो न्युरो हेल्थकेयर, लगनखेललाई प्रश्न सोध्न हटलाइन ९८१६१९८४६८ वा [email protected]

Tags :
प्रतिक्रिया दिनुहोस