काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश भए पनि मृत्यु भइसकेका व्यक्तिको नाम दुरुपयोग हुन नदिन आवश्यक सतर्कता अपनाइएको जनाएको छ।
आयोगले मतदाता तथा सरोकारवालाबाट यस्ता जिज्ञासा आउने गरेको उल्लेख गर्दै प्रक्रिया र सुरक्षात्मक उपायबारे जानकारी दिएको हो।
आयोगद्वारा सञ्चालन गरिएको कल सेन्टरमा प्राप्त प्रश्नको जवाफमा नामावली प्रकाशनअघि मृत्यु भएको सूचना प्राप्त भएका व्यक्तिको विवरण हटाइसकिएको तर सूचना नपुगेका वा निर्धारित समयपछि मृत्यु भएका व्यक्तिको नाम भने सूचीमा रहन सक्ने उल्लेख गरिएको छ। यद्यपि त्यस्तो अवस्थामा पनि दुरुपयोग हुन नदिन मतदान प्रक्रियामा कडाइ गरिएको आयोगको भनाइ छ।
मतदाताको पहिचान सुनिश्चित गर्न प्रत्येक मतदान केन्द्रमा फोटोसहितको रंगीन मतदाता नामावली उपलब्ध गराइएको छ। मतदान गर्न आउने व्यक्तिले पेश गर्ने आधिकारिक परिचयपत्र र नामावलीमा रहेको विवरण तथा फोटो मिलान गरेर मात्र मतपत्र उपलब्ध गराइने व्यवस्था रहेको जनाइएको छ।
त्यसका अतिरिक्त मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीले कुनै पनि शंकास्पद गतिविधि निगरानी गरी नियन्त्रण गर्ने तथा उम्मेदवारका प्रतिनिधिले समेत मतदाता पहिचान प्रक्रियामा आपत्ति जनाउन सक्ने प्रावधान रहेको आयोगले स्पष्ट पारेको छ। यी व्यवस्थाका कारण मृतक व्यक्तिको नाम प्रयोग गरी मतदान हुने सम्भावना न्यून रहेको आयोगको निष्कर्ष छ।
निर्वाचनसम्बन्धी जिज्ञासा समाधानका लागि आयोगले नि:शुल्क टोल-फ्री नम्बर ११०२ मार्फत जानकारी लिन सकिने सुविधा उपलब्ध गराएको पनि जनाएको छ।







