काठमाडौँ। नेपाली काँग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन परिचालन निर्देशिका-०८२’ शीर्षकमा ३४ बुँदे परिपत्र जारी गरेको छ। बिहीबार पार्टी मातहतका संरचनामा पठाइएको उक्त निर्देशनमार्फत संगठनात्मक एकता र सक्रिय परिचालनमा जोड दिइएको छ।
परिपत्रमा पार्टीभित्र रहेका आन्तरिक मतभेदलाई पछाडि राखी सबै तह र पंक्तिलाई निर्वाचन अभियानमा समन्वित रूपमा अघि बढ्न आग्रह गरिएको छ। निर्वाचनको सन्दर्भमा पार्टीको पक्षमा अनुकूल वातावरण निर्माण हुँदै गएको उल्लेख गर्दै त्यसलाई संस्थागत उपलब्धिमा रूपान्तरण गर्न संगठित प्रयास आवश्यक रहेको जनाइएको छ।
निर्देशनमा विगतमा सम्पन्न कार्य र नीति-कार्यक्रमलाई आधार बनाएर मतदातासमक्ष प्रस्तुत हुने संस्कार विकास गर्नुपर्ने विषय पनि समेटिएको छ। उपलब्धि र कार्यसम्पादनका आधारमा प्रतिस्पर्धा गर्ने राजनीतिक अभ्यासलाई सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।
उक्त परिपत्रले निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित र परिणाममुखी बनाउन संगठनका सबै तहमा समन्वयात्मक भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
परिपत्र :
१) कुनै पनि राजनैतिक दलभित्र काम गर्ने क्रममा कतिपय बिषयमा आपसी असमझदारी उत्पन्न हुन सक्छन्, यो स्वभाविक हो । तर निर्वाचनको समयमा आन्तरिक विमतिका सबै कुरा बिर्सिएर सम्पूर्ण पार्टी पंक्ति एक्यवद्ध हुन जरुरी हुन्छ । यसलाई आत्मसात गर्दै आ–आफ्नो तहमा सबै साथीहरूलाई प्रेरित गर्ने/गराउने ।
२) ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ का रूपमा अघि आएको तथ्य मतदाता समक्ष राखेर मतदाताको नवीन विश्वास गाँस्न प्रभावकारी अभियान अघि बढाउने ।
३) केन्द्रीय समितिको बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री पदका लागि सर्वसम्मत रूपले अघि सारेपछि पार्टीको पक्षमा चुनावी माहौल बलियो बन्दै गएको छ । यो उम्मेदवारीलाई कुशल ढंगले मतदाता समक्ष स्थापित गर्दै मतदाताको विश्वास बलियो ढंगले आर्जन गर्न तर्फ चुनाव अभियानलाई केन्द्रित गर्ने ।
४) निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पूर्णत: पालना गरेर निर्वाचन अभियानलाई स्वस्थ र मर्यादित बनाउन भुमिका निर्वाह गर्ने । निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने बिषयमा स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गर्ने ।
५) राष्ट्रिय झण्डाको उच्च सम्मान सदैव गर्नु पर्ने दायित्व हामी सबै नेपालीको हो ।
८ निर्वाचन आयोगले तोकेको संख्या र प्रयोगको विधि सबै दल, सबै उम्मेदवार र सबै थरी प्रचारकले पालना गर्न जरुरी छ ।
८ राष्ट्रिय झण्डाको उच्च सम्मान र उच्च मर्यादा राख्ने सजगता चुनाव अभियान क्रममा कांग्रेसले संवेदनशीलता साथ राख्नेछ ।
६) विगतमा कांग्रेसको नेतृत्वमा देशले हासिल गरेका राजनैतिक र आर्थिक लगायतका उपलब्धिको टिपोट मतदाता समक्ष बुँदागत रूपमा प्रस्तुत गर्ने । आफुले गरेका कामको जगमा चुनाव लड्ने संस्कृतिको विकास गर्न बल पुर्याउने ।
७) विगतका उपलब्धिप्रति गर्व गरिरहँदा, विगतका कमी–कमजोरीको पहिचान र आत्मसात पनि हामी गरिरहेका छौं ।
८ चुनावी मैदानमा कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता गरिरहँदा, स्पष्ट गर्ने– ‘जो बदलिन सक्छ, उसैले बदल्न सक्छ’ ।
८ कमजोरी पहिचान गरेर नयाँ ढंगले अघि बढ्ने यात्रा प्रारम्भ भइसकेको तथ्यलाई दृढ ढंगले मतदाता समक्ष राख्ने ।
८) पार्टीको प्रतिज्ञा पत्रको ‘भिजन १०’ हाम्रो दृष्टि, दायित्व र गन्तव्य हो । यसलाई मिडिया, सामाजिक सञ्जाल र प्रचार मञ्च मार्फत बुँदागत र बिस्तारित रूपमा मतदाता समक्ष राख्ने । निर्वाचनलाई संकल्प र मुद्दा केन्द्रित बनाउन सकारात्मक योगदान गर्ने ।
९) स्थानीय मुद्दाहरू पहिचान गरेर त्यसप्रति पार्टीको प्रतिबद्धता व्यक्त गरिरहँदा ‘चुनाव जित्न जे पनि आश्वासन दिने’ गलत राजनैतिक प्रवृत्तिबाट होईन, स्थानीय नागरिक लाभान्वित हुनसक्ने कोणबाट टुंगोमा पुग्ने ।
१०) भौतिक निर्माणका परियोजना बारे कुनै पनि क्षेत्रमा लहडका आधारमा होईन पूरा गर्न सकिने ‘फिजिबल’ र लाभ हासिल गर्न सकिने ‘भायबल’ कोणबाट हेर्न, बुझ्न र टुंगोमा पुग्नुपर्ने हुन्छ ।
८ राष्ट्रिय योजनाहरू बारे केन्द्रको टिमले दृष्टि निर्माण गर्नेछ, स्थानीय परियोजनाका सम्बन्धमा स्थानीय आवश्यकताका आधारमा धारणा निर्माण गर्ने सजगता पार्टीले राख्नुपर्नेछ/राख्नेछ ।
११) ‘निर्वाचनको मैदान दुश्मनीको अखडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो’ ।
८ चुनाव मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार नेपाली कांग्रेसका लागि दुश्मन होइनन् ।
८ चुनावी प्रतिस्पर्धा क्रममा यो संस्कृतिलाई सबैले आत्मसात गर्न सकुन् भनेर हामीले हाम्रो व्यवहारबाट सन्देश प्रवाहित गर्नुछ ।
१२) नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरू बारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा बिषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ ।
८ निर्वाचनको मैदानलाई स्वस्थ र हार्दिक बनाउने कर्तब्य मुलत: दलहरूकै हो, यसमा अन्य सबै दललाई घच्घच्याउने भूमिका समेत कांग्रेसले निर्वाह गर्नुछ र गर्नेछ ।
१३) घृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति दिनबाट हाम्रा उम्मेदवार र प्रचारक टाढा रहनेछन् िसामान्य र स्वस्थ प्रकृतिको व्यङ्ग्य निर्वाचन मैदानमा स्वभाविक हुन्छ, तर हाम्रो सार्वजनिक प्रस्तुति सम्पूर्णत: संयमित र परिपक्व रहनेछ ।
१४) बदलिएको समयको अपेक्षा र बदलिएको कांग्रेसको संकल्प अनुरुप निर्वाचनको मैदानमा हाम्रा उम्मेदवार र प्रचारकहरूले नवयुवाका मुद्दा, भावना, सोच र सपनालाई आत्मसात गर्नेछन् र ‘युवाका बदलिएका सपनाको सम्बोधन, बदलिएको कांग्रेसको नेतृत्वमा’ भन्ने संकल्प र प्रतिबद्धता व्यक्त गर्नेछन् ।
१५) चुनाव प्रचार क्रममा असल सांस्कृतिक परम्पराहरूप्रति मर्यादा राख्न उम्मेदवार र प्रचारक प्रतिबद्ध रहनेछन् ।
८ कसैको पनि धार्मिक आस्थालाई चोट पुग्ने शब्द प्रयोग या ब्यवहार प्रस्तुत विल्कुलै नगर्न र सबै विविधतालाई सम्मान गर्न उम्मेदवार र प्रचारकहरू संवेदनशील रहनेछन् र सजगता राख्ने छन् ।
१६) स्वतन्त्र प्रेसको सम्मान र मिडिया मैत्री व्यवहार नेपाली कांग्रेसको आधारभूत मान्यता हो ।
८ हाम्रा उम्मेदवार एवं सबै तहको प्रचार समिति संयोजकले निर्वाचन मैदानमा प्रेसका प्रश्न, सुझाव र आलोचनालाई सहज आत्मसात गर्नेछन् ।
८ कुनै भ्रमपूर्ण समाचार प्रकाशित भए/गरिए त्यसलाई स्थापित विधि बमोजिम खण्डन या सम्बन्धित निकायमा ध्यानाकर्षण गर्नेछन् ।
१७) चुनावी अभियान ‘फिजिकल’ कम ‘डिजिटल’ बढी हुँदै गएको स्थिति अनुरुप सामाजिक सञ्जालको प्रयोगमा पार्टीका सबै सदस्य जागरुक ढंगले सहभागी हुनेछन् ।
८ स्थानीय रूपमा जिम्मेवार टिम मार्फत निर्माण हुने सामग्री प्रयोग गर्नुसँगै, व्यक्तिगत रुपले कुनै प्रचार सामग्री बनाउँदा सम्पूर्णत: मर्यादित सामग्री बनाउनु पर्नेछ/ बनाउनेछन् ।
८ निर्वाचन क्षेत्रमा रहेकोे अनुगमन समितिले आफ्नो क्षेत्रभित्र तथा केन्द्रमा रहेको सामाजिक सञ्जाल अनुगमन समितिले देशव्यापी रूपमा प्रचार सामग्री गुणस्तरको अनुगमन गर्नेछन्/आवश्यक ठहर्दा परिमार्जनका लागि निर्देशन गर्नेछन् ।
१८) नेपाली कांग्रेस माथि लाग्ने/लगाइने आरोपहरूलाई तथ्यपूर्ण ढंगले संयम र सहजसँग प्रचार सामग्री र प्रचार सभाहरू मार्फत दृढता साथ स्पष्ट गर्ने कार्य चुनाव प्रचारकहरूले गर्नेछन् ।
१९) पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित साथीहरूले आचारसंहिता उल्लंघन नहुने हदसम्म पार्टी र उम्मेदवारसँग समन्वय गरेर विजय अभियानलाई सघाउने छन् ।
२०) विगतमा विभिन्न कारणवश पार्टी छोडेर गएका साथीहरू पार्टीमा फर्किने क्रम देशव्यापी रुपमा शुरू भएको यथार्थ दृष्टिगत गरेर कुनै पूर्वाग्रह नराखी पार्टीमा भिर्त्याउने र उहाँहरूलाई आ–आफ्नो प्रभाव एरियामा सकृय हुन आग्रह गर्ने ।
२१) ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदिय जिम्मेवारी जहाँ/उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ ।
८ केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तत्तत् स्थानमा कार्य सकेर पुन: आफ्नै जिल्ला/क्षेत्र/पालिका र वडामा केन्द्रित रहनु हुनेछ ।
८ तोकिएको जिम्मेवारी लिएर अन्यत्र जानु भएका बाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनु हुनेछ ।
८ एउटा वडाका साथीहरू सदस्य अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौ’ उद्घोष साथ आ–आफ्नै वडामा खट्नु हुनेछ ।
२२) पार्टीका कृयाशिल सदस्यहरूले ५/५० को रणनीति अनुरूप चुनावी अभियानमा कार्य गर्नुहुनेछ । अर्थात् आफ्नो भूगोलको ५० घरपरिवारसँग टिम बनाएर ५ कृयाशिल सदस्य निरन्तर सम्पर्कमा रहनु हुनेछ । स्थानीय वडा टोलमा पछिल्लो समय सकृयतापूर्वक अघि आउनु भएका साथीहरू समेतको सहभागिता रहने त्यस्तो टिमले जिम्मेवारीको ५० घरमा प्रचार सामग्री पुर्याउने र मतका लागि प्रेरित गर्ने कार्य गर्नेछ ।
२३) ‘मतदाता शिक्षा’ को दायित्व सरकारको मात्रै होइन, दलहरूको पनि हो भन्ने यथार्थ मनन गर्दै पार्टीको स्थानीय तहका साथीहरू प्रचार–प्रसार सँगसँगै मतदाता शिक्षाको कार्यमा जिम्मेवारी बाँडफाँड गरेर समर्पित ढंगले लाग्नु हुनेछ ।
२४) भ्रातृ/शुभेच्छुक र जिल्ला सम्पर्क समितिले निर्देशिकाको भाव अनुरुपका कार्यसम्पादन आ–आफ्नो संस्थाको जिम्मेवारी क्षेत्रमा गर्ने/गराउने छन् । आ–आफ्नो संगठनको वडा तहसम्म रहेका पदाधिकारी र सदस्यलाई मुलत ‘डिजिटल मुभ’ मा प्रेरित गर्नेछन् । ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानमा जिल्ला सम्पर्क समिति केन्द्रित हुनेछन् ।
२५) विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुले समग्रमा नेपाल भरिका लागि तथा आफू व्यक्तिगत रूपले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका लागि समन्वय र प्रचारको कार्य गरिरहँदा बिदेशमा रहेका बढिभन्दा बढी नेपालीको सम्पर्कमा पुग्नेछन् ।
२६) मानव बेचबिखन, जातीय विभेद, बालश्रम, घरेलु हिंसा, लागू औषध दुर्ब्यसन लगायतका अनेक सामाजिक विसंगतिको अन्त्य गर्ने संकल्प हामीले गर्नुछ । चुनावी अभियानका क्रममा हाम्रा उम्मेदवार र प्रचारकहरूले यो बिषयलाई सर्वपक्षीय दायित्वका रूपमा सम्प्रेषण गर्नेछन् र सोही बमोजिमको उत्प्रेरणा भर्न कृतसंकल्पित रहनेछन् । प्रचार अभियानमा कहिँ पनि बालबालिका प्रयोग कानून र संस्कार दुवैको विपरीत हुन्छ । यस्तो हुन नदिन पार्टीका सबै तह सजग र संवेदनशील रहनेछन् ।
२७) ‘श्रमिक र कृषकको सम्मान, अन्तत: सबैको सम्मान’ भन्ने भावका साथ मत जित्नुअघि मन जित्ने अठोटमा हाम्रा प्रचार अभियानहरु संवेदनशील रहनेछन् ।
२८) आगामी संसदबाट विद्यमान संविधानमा आवश्यक संशोधन गरेर यसलाई अझ समयानुकूल र अझ बलियो बनाउन नेपाली कांग्रेस प्रतिबद्ध छ । निर्वाचनको मैदानमा हाम्रा उम्मेदवार र प्रचारकहरूले यस बारे नागरिक अभिमत गहन आत्मसात गर्नेछन् ।
२९) प्रचार अभियान अघि बढाउन जरूरी आर्थिक व्यवस्थापन गरिरहँदा स्वत:स्फूर्त सहयोगलाई स्वीकार गर्ने तर कुनै पनि ठूला साना व्यवसायीलाई देशभर कहिँ पनि दबाब नदिने । ‘साझा दायित्व/साझा स्वामित्व’ बोधका साथ पार्टीका सदस्यहरूको सहभागितामा सहकार्यको निश्चित कोष क्षेत्रमा खडा गरेर चुनावी अभियानलाई भरथेग गर्ने, फजुल खर्च नगर्ने र चुनाव सकिएको १५ दिनभित्र निर्वाचन आयोगलाई खर्च विवरण उपलब्ध गराउने ।
३०) पूर्व शिक्षक, पुर्व सैनिक, पूर्व प्रहरी, पूर्व कर्मचारी लगायत अवकाश प्राप्त सबैको पछिल्लो जीवनलाई उर्जाशिल बनाएर समाजका लागि सहि उपयोगमा ल्याउन जरुरी छ । निर्वाचन प्रचार अभियानका क्रममा देशव्यापी रूपमा यो नेटवर्कलाई व्यापक सम्पर्कमा ल्याउन, जिम्मेवारीमा समेट्न र पार्टीको विजय अभियानमा सकृय बनाउन हरेक निर्वाचन क्षेत्र, पालिका र वडा समितिहरूले निश्चित संयन्त्र बनाएर कार्य गर्नेछन् ।
३१) केही बर्ष बिदेशमा बिताएर गाउँ फर्किएका हजारौं नेपाली युवा गाउँहरूमा छन् । अध्ययन, काम या व्यवसायबाट फर्किएकाहरूको गाउँ समाजमा आ–आफ्नै ढंगको सम्पर्क र प्रभाव छ । विगतमा पार्टीले निर्माण गरेको पूर्व आप्रवासी विभाग मार्फतको कार्ययोजना बमोजिम पार्टीका स्थानीय नेटवर्क सम्पर्क, समन्वय र परिचालनमा पुग्नेछ, पुग्नुपर्नेछ ।
३२) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरेको ‘सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका’ लाई कार्यान्वयन गरेर पार्टीका कार्यक्रमहरू व्यवस्थित गर्न गराउन पार्टीका सबै तहले भूमिका निर्वाह गर्नेछन् ।
३३) विजयी अभियान अघि बढाइरहँदा हरेक निर्वाचन क्षेत्रमा पेशागत क्षेत्र र बुद्धिजीवीहरूको ‘फिड ब्याक’ हाम्रा स्थानीय समिति र उम्मेदवारहरूले निरन्तर लिनेछन् । प्राप्त सुझावहरूका आधारमा विजय अभियानलाई आवश्यक परिमार्जन र थप व्यवस्थित बनाउने छन् ।
३४) यो निर्देशिका कार्यान्वयन गर्ने गराउने दायित्व पार्टीका सबै उम्मेदवार, केन्द्रदेखि वडा टोल तहसम्मका कार्यसमिति पदाधिकारी र सबै सदस्यको हुनेछ ।







