काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सबै प्रदेशका भौगोलिक, आर्थिक र सामाजिक विशेषतालाई आधार मानेर विस्तृत अध्ययनपछि विकास परियोजना अघि बढाउने नीति सार्वजनिक गरेको छ । पार्टीले आज सार्वजनिक गरेको प्रतिबद्धता पत्रमार्फत सातै प्रदेशमा उद्यमशीलता अध्ययन र त्यससँग जोडिएका परियोजना सञ्चालन गर्ने घोषणा गरेको हो ।
प्रतिबद्धता अनुसार कोशी प्रदेशलाई उद्योग तथा पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यसअन्तर्गत चिया तथा कृषि प्रशोधन केन्द्र स्थापना, साहसिक पर्यटन प्रवर्द्धन, हस्तकला उद्यम विकास र पूर्वी नेपाल पर्यटन सर्किट निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
मधेश प्रदेशलाई कृषि र धार्मिक पर्यटनको हबका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । यहाँ कृषि प्रशोधन उद्योग विस्तारसँगै जानकी मन्दिर, बौद्ध क्षेत्रलगायत धार्मिक स्थललाई समेट्ने पर्यटन सर्किट विकास गर्ने उल्लेख छ ।
बागमती प्रदेशमा शहरी, सूचना प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर आइटी स्टार्टअप प्रवर्द्धन, ई–कमर्स विस्तार, नवप्रवर्तन केन्द्र स्थापना तथा काठमाडौं उपत्यकामा डिजिटल अर्थतन्त्र सुदृढ गर्ने योजना समावेश गरिएको छ ।
गण्डकी प्रदेशलाई पर्यटन तथा जलविद्युत् केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राख्दै सांस्कृतिक र साहसिक पर्यटनको व्यवसायीकरण, त्रिभुज पर्यटन परियोजना सञ्चालन र जलविद्युत् विकासमा जोड दिइने जनाइएको छ ।
लुम्बिनी प्रदेशमा कृषि तथा धार्मिक पर्यटनलाई प्राथमिकता दिँदै मेगा फूड पार्क स्थापना, कृषि प्रशोधन उद्योग विस्तार र अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कर्णाली प्रदेशका लागि जडीबुटी, फलफूल र इको–पर्यटनलाई मुख्य आधार बनाउँदै जडीबुटी प्रशोधन केन्द्र, फलफूलको व्यावसायिक खेती तथा पर्यावरणमैत्री पर्यटन विकास गर्ने योजना सार्वजनिक गरिएको छ ।
सुदूरपश्चिम प्रदेशलाई धार्मिक र पर्यावरणीय पर्यटनसँगै कृषि हबका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यस प्रदेशमा पर्यावरणीय तथा धार्मिक पर्यटन प्रवर्द्धन, कृषि प्रशोधन र स्थानीय रक्सी तथा कृषि उत्पादनको व्यवसायीकरणमा जोड दिने नेकपाले जनाएको छ ।







