काठमाडौँ। नेपाल आयल निगमले आगामी निर्वाचनलाई ध्यानमा राख्दै उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न विशेष तयारी गरेको छ।
निगमका अनुसार, फेब्रुअरी महिनाका लागि सामान्य कोटाभन्दा २ हजार मेट्रिक टन बढी ग्यास आयात गरिएको छ र हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा बजारमा आपूर्ति भइरहेको छ।
काठमाडौं उपत्यकाका २३ ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिन्डर वितरण गर्दै आएका छन्। तर, पछिल्लो समय बढ्दो मागका कारण केही ब्रान्डको ग्यास अभाव देखिएको निगमले स्वीकार गरेको छ।
ग्यास आपूर्ति सहज बनाउन निगमले उपभोक्तालाई नयाँ विकल्प उपलब्ध गराएको छ। डिलरमार्फत ग्यास नपाएमा उपभोक्ताले सिधै उद्योग वा बिक्री केन्द्रमा सम्पर्क गरेर ग्यास खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ। विशेष गरी नेपाल ग्यास, एभरेष्ट ग्यास, साइबाबा ग्यास र श्री कृष्ण ग्यासको अभाव भएको क्षेत्रका उपभोक्ताले ती उद्योगका आधिकारिक नम्बरमार्फत ग्यास प्राप्त गर्न सक्नेछन्।
यदि ग्यास आपूर्तिमा समस्या भएमा निगमको कार्यालय समयभित्रको हटलाइन नम्बर ०१-५९७१९०२ मार्फत उजुरी दिन सकिने जनाइएको छ। निगमले आवश्यकभन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तालाई अनुरोध गरेको छ।







