काठमाडौँ । काठमाडौँ उपत्यकामा सिसिटिभी प्रणालीको विस्तार र प्रभावकारी सञ्चालनका विषयमा नेपाल प्रहरीले उपत्यकाभित्रका २१ स्थानीय तहसँग संयुक्त छलफल गरेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको संयोजनमा मंगलबार सम्पन्न कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका महानगरपालिका, नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, सूचना प्रविधि शाखाका जिम्मेवार अधिकारी तथा नेपाल प्रहरीका वरिष्ठ पदाधिकारी सहभागी थिए।
उपत्यकामा शान्ति–सुरक्षा सुदृढ बनाउने, अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा नागरिकको दैनिकीलाई सुरक्षित बनाउन सिसिटिभी प्रणालीको जडान, मर्मतसम्भार, प्रविधि प्रयोग र अन्तरनिकाय समन्वयका विषयमा विस्तृत छलफल गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण धितालले सिसिटिभी प्रणालीको उपयोगिता, हालसम्मका उपलब्धि, उपत्यकामा रहेको वर्तमान अवस्था र आगामी कार्ययोजनाबारे प्रस्तुति दिएका थिए। छलफलका क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय तहले सिसिटिभी जडान गर्दा नेपाल प्रहरीसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्राविधिक मापदण्ड तयार गर्दा सबै पालिकाले अपनाउन सक्ने गरी एकरूपता कायम गर्न सुझाव दिए।
अन्तरक्रियामा सहभागी स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रमा सिसिटिभी जडान तथा सञ्चालनका क्रममा देखिएका व्यवहारिक समस्या, चुनौती र सम्भावित समाधानका उपाय प्रस्तुत गरे। साथै फाइबर नेटवर्क, एकीकृत प्रणालीमा आबद्धता र आपसी समन्वय सुदृढीकरणका विषयमा समेत चासो व्यक्त गरिएको थियो।
उठाइएका प्राविधिक जिज्ञासाको सम्बोधन प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर गोपालबहादुर रेग्मीले गरेका थिए। कार्यक्रमको समापनमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले छलफलमा आएका विषयवस्तुहरूमाथि धारणा राख्दै स्थानीय तह र नेपाल प्रहरीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
औपचारिक कार्यक्रमपछि सहभागीहरूले जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रकालीस्थित सिसिटिभी कन्ट्रोल रुमको अवलोकन समेत गरेका थिए। हालैका घटनाक्रमका क्रममा उपत्यकाका केही सिसिटिभी क्यामेरामा क्षति पुगेकाले त्यसको व्यवस्थापन र नयाँ जडानलाई तीव्रता दिन स्थानीय तहसँग सहकार्यका लागि उक्त छलफल आयोजना गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।







