काठमाडौँ । सगरमाथा आरोही एवं कलाकार कविता नेपालीलाई एभरेस्ट समिटर्स समिटको जनसम्पर्क अधिकृतमा नियुक्त गरिएको छ ।
एभरेस्ट एलायन्स नेपालले आज पत्रकार सम्मेलन गरी सगरमाथा आरोही एवं कलाकार नेपालीलाई जनसम्पर्क अधिकृत नियुक्त गरिएको जानकारी दिएको हो ।
एलायन्सका अध्यक्ष सुदर्शन नेपालले आगामी दुई वर्षका लागि कलाकार नेपालीसँग सम्झौता गरिएको जानकारी दिएका छन् । नेपालीले सन् २०२५ मे १८ मा सफलतापूर्वक सगरमाथा आरोहण गरेकी थिइन् ।
पत्रकार सम्मेलनमा कलाकार नेपालीले आफूले पर्वतारोहण, फोहर व्यवस्थापन, हिमाली संरक्षण र जिम्मेवार पर्यटन प्रवर्द्धनमा योगदान दिने बताइन् । एभरेस्ट समिटर्स समिट आगामी मे २७ मा काठमाडौँमा आयोजना हुँदै छ ।







