काठमाडौँ । नुवाकोट जिल्लाका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता–२०८२ कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लागू भएको निर्वाचन आचारसंहिता–२०८२ को प्रभावकारी कार्यान्वयन, निर्वाचन तथा उम्मेदवारको सुरक्षा लगायतका विषयमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा उम्मेदवार तथा उनीहरूका प्रतिनिधि, सम्बन्धित राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
नुवाकोट जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम बिदुरमा सञ्चालनमा रहेको छ भने निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय तादी गाउँपालिकास्थित खरानीटारमा स्थापना भई यही माघ ३ गतेदेखि कार्यसञ्चालनमा आएको छ। नुवाकोट जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी नुवाकोट जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई तोकिएको छ भने निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृतका रूपमा भेषराज कोइराला रहेका छन्।
निर्वाचन क्षेत्र नं. २ का लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटको सभाहलमा माघ ११ गते तथा निर्वाचन क्षेत्र नं. १ का लागि तादी गाउँपालिकास्थित खरानीटारमा माघ १४ गते आचारसंहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले निर्वाचन आचारसंहिता–२०८२ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथि उठेका जिज्ञासामा निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी पाएका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई, निर्वाचन अधिकृत भेषराज कोइराला, प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद रेग्मी तथा मुख्य निर्वाचन अधिकृत माननीय जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले धारणा राखेका थिए।
अन्तरक्रियामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको इमान्दारीपूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण सुनिश्चित गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम निर्वाचन आयोगले गत पौष १२ गते स्वीकृत गरेको ‘निर्वाचन आचारसंहिता–२०८२’ यही माघ ४ गतेदेखि लागू भइसकेको छ। निर्वाचन आयोगले पहिलो पटक सहायक प्रमुख जिल्ला अधिकारीलाई कार्यशर्तसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिएको छ।







