काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले प्रतिकूल मौसमका कारण जोखिम बढेको भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासनका अनुसार गएरातिदेखि जिल्लाका हिमाली तथा उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको अवस्था छ। यस्तो मौसमका कारण विपद् उत्पन्न हुन सक्ने जोखिम रहेकाले आवश्यक नपरी यात्रामा ननिस्कन र यात्रा गर्नै परे सावधानी अपनाउन सूचनामार्फत अनुरोध गरिएको हो।
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् भने केही सवारीसाधन हिउँमा फसेको जनाइएको छ। यस वर्ष रुकुमपूर्वमा परेको यो दोस्रो हिमपात हो, जसका कारण रुकुमपूर्व-बागलुङ सिमानास्थित पातिहाल्ना क्षेत्रमा सडक करिब तीन फिटसम्म हिउँले ढाकिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमका अनुसार यातायात व्यवसायीलाई मौसम पूर्वानुमानको आधारमा मात्र सवारी सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै हिउँ खेल्न आउने, हिमाल आरोहण तथा पदयात्रामा संलग्न पर्यटकलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
यात्रुहरूका अनुसार हिउँमा फसेर लामो समय बस्नुपर्दा चिसो र खाद्यान्नको अभावका कारण समस्या उत्पन्न भएको छ। होटेल वा बासको सुविधा नहुँदा केही यात्रुहरू पैदल हिँडेर सीमावर्ती क्षेत्रमा पुगेर सामान्य खाद्य सामग्री किनेर खान बाध्य भएका छन्।
सडक खुलाउने प्रयोजनका लागि बागलुङका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी रुकुमपूर्वतर्फबाट हिउँ हटाउने काम सुरु गरिएको रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।







