तिमी आफैलाई
अजेय ठान्छौ भने पनि
अभेद्य मान्छौ भने पनि
तिम्रा कवचहरू
तिम्रा पर्खालहरू
अझै बलिया बनाऊ बरु
सबै ढोका बन्द गर बरु
तर
मर्ने ढोका खुल्लै राख।
संसार सबै तिम्रो मुठ्ठीमै भए पनि
मुठ्ठी बाँधिरहन सकिने छैन
एक दिन थाक्ने छौ मुठ्ठी कस्दाकस्दा
त्यो थकाइको अन्तिम र मीठो विश्रान्ति
मृत्युको काख नै हुनेछ।
जब तिम्रा प्रियहरू सकिँदै जानेछन्
जब तिम्रा महलहरू मक्किँदै जानेछन्
जब तिम्रो जिभ्रो
अघाउने छ, संसारका सबै स्वादहरूबाट
जब तिम्रो मुटु
अप्रभावित हुनेछ-सबै दुःख र खुसीहरूसँग
तिमी मिच्छिने छौ पट्यारलाग्दा
सूर्योदय र सूर्यास्तहरूसँग
हिउँद, बादल र प्रचण्ड घामहरूसँग
एक दिन विरक्त लाग्न थाल्नेछ
चराहरूको गीत
एक दिन झिँजो लाग्न थाल्नेछ
बच्चाहरूको किलकारी आवाज
जब थाक्नेछौ सबै
मनोरञ्जनका साधनबाट
तिमीलाई हिँडू हिँडू लाग्नेछ कतै
हो त्यो बाटो हो-मृत्युको बाटो।
महाशय,
कहिले आत्तिएर
कहिले मात्तिएर
किन भनिरहेछौँ
म बाहेक
मैले बाहेक
मेरो बाहेक
ममा बाहेक
केही हुनै हुँदैन
याद गर-
जसरी फरक हुन्छ ताप
हरेको दिनको सूर्यकिरणको
जसरी बदलिरहन्छ कला
प्रत्येक साँझ उदाउने चन्द्रमाको
जीवन यदि बन्न नदिने भए-
रसविहीन, तापविहीन, कलाविहीन
प्रत्येक परिवर्तनलाई
हाँसी हाँसी अङ्कमाल गर
ठडिएरै भाँचिनु भन्दा
निहुरिएर बाँच्नु राम्रो हो
अग्लो छु भन्दैमा
मर्नु हुँदैन-
ढोकाको निलमा ठोकिएर
खुला राख महाशय,
बगैँचामा उडेका पुतली हेर्ने
उज्यालो छिर्ने आँखीझ्यालहरू।







