काठमाडौँ। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले १ असोजमै दिएको राजीनामा बारे दुई महिनापछि मात्रै प्रदेश सभा सदस्यहरूलाई औपचारिक जानकारी गराइएको छ ।
प्रदेश सभा सचिव रामकुमार पौडेलले आज बिहीबार सभामुखको राजीनामा सम्बन्धी सूचना निकालेर प्रदेशसभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराएका हुन् ।
सभामुख भुवनकुमार पाठकले भने १ असोजमै उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा दिएका थिए ।
जेन जेडहरुको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले १ असोजमा इमेलमार्फत राजीनामा पत्र पठाएका थिए ।
२४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएका हुन् ।
बागमती प्रदेश सभाको रिक्त सभामुख पदमा नयाँ सभामुख चयन प्रक्रियाका लागि सत्तारुढ दल नेपाली काँग्रेस र एमाले छलफलमा छन् । सभामुख कसले लिने भन्ने विषयमा सहमति नजुट्दा प्रदेशसभा बैठक पनि बस्न सकेको छैन ।
सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस, सत्ता साझेदार दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र मध्ये कसलाई सभामुख दिने भन्ने विषयमा सहमति जुट्न नसकेको हो ।
सभामुखमा तीन दलले नै दाबी गर्दै आएका छन् । तीन दलकै संसदीय दलको बैठकले औपचारिक निर्णय गरेर सभामुखमा दाबी गरेका थिए ।
प्रदेश सभा बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहीबार मात्रै प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको चालु सोह्रौँ अधिवेशन अन्त्य गरेका छन् ।







