काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा घाइते भई एउटा खुट्टा गुमाएका झापाका राजेश पोर्तेलको नेतृत्वमा ‘राष्ट्रिय परिवर्तन पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।
सूर्योदय नगरपालिका–१० झापाका २८ वर्षीय पोर्तेल नेतृत्व गरेको २१ सदस्यीय केन्द्रीय समिति रहने गरी एक महिनाअघि कात्तिक २ गते आयोगमा दर्ताका लागि निवेदन पेश गरिएको थियो ।
दल दर्ता प्रक्रिया पूरा भएपछि आयोगका सचिव महादेव पन्थले सोमबार अध्यक्ष पोर्तेलसहित पार्टीका पदाधिकारी र सदस्यलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका छन् । प्रमाणपत्र ग्रहण गर्न पुगेका पदाधिकारी तथा सदस्य नेपालको राष्ट्रिय झण्डा ओढेर आयोगमा उपस्थित भएका थिए ।
आन्दोलनका दौरान भएको विस्फोटनले खुट्टा गुमाएका पोर्तेलले बैसाखी टेक्दै आयोगमा उपस्थित भएर सनाखत गरेका थिए । झापाको ट्राफिक कार्यालयअगाडि बिस्फोटक पदार्थ पड्किँदा गम्भीर घाइते भएका उनी बीएनसी अस्पतालमा करिब १५ दिन उपचारपछि घर फर्किएका थिए ।
घाउ निको नहुँदासम्म बैसाखीको सहाराले हिँड्नुपर्ने र त्यसपछि कृत्रिम खुट्टाको सहयोगले सामान्य हिँडडुल गर्न सकिने चिकित्सकले बताएपछि आफू आशावादी रहेको पोर्तेलले सुनाएका छन् ।
दल दर्ता प्रमाणपत्र ग्रहण गर्दै अध्यक्ष पोर्तेलले अहिले नै निर्वाचनमा जाने तयारी पार्टीको नभएको बताए । तर, वर्तमान अन्तरिम सरकारले जेन जेड आन्दोलनका घाइते र शहीद परिवारको माग सम्बोधन गर्न दबाब दिइरहने उनले स्पष्ट पारेका छन् ।







