काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष आज निर्वाचन आयोगले आफ्नो १९ औँ वार्षिक प्रतिवेदन पेस गरेको छ।
प्रदेश प्रमुख खापुङ्गलाई आयोगका कोशी प्रदेश कार्यालयका प्रदेश निर्वाचन कार्यालयका प्रमुख युवराज गुरागाईँले प्रमुखको कार्यालय विराटनगरमा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाए ।
प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको काँधमा महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए ।
उनले सम्पूर्ण नेपाली जनतालाई सार्वभौम सत्ताको मालिक र राजकीय सत्ताको अधिकारी निर्वाचनको माध्यमबाट प्रयोग गर्न मतदाता नामावली नाम दर्ता गर्न आग्रह गरे ।
प्रदेश प्रमुख खापुङ्गले जनताले विवेकपूर्ण रूपमा निर्वाचनमा मतदान गरी लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाई मुलुकमा समृद्ध कायम गर्नुपर्नेमा जोड दिए । आयोगका निर्वाचन कार्यालयका प्रमुख गुरागाईँले गत आर्थिक वर्षमा आयोगमा १२२ वटा दर्ता भएको र सोही अवधिमा कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता रहेको जानकारी दिए ।







