काठमाडौँ । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईँले सुकुम्बासी बस्ती भत्काउन काठमाडौँ महानगरका मेयर बालेन साहको प्रयास सफल हुन नदिने बताएका छन् ।
आइतबार बिहान मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईँले बालेन र राजु पाण्डेविरुद्ध लड्न आफूले सहयोग गर्ने बताए । उनले बालेनमाथि विभिन्न आरोप लगाउँदै सुकुम्बासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न उक्साए ।
प्रसाईँले भने, ‘घर जलाउन र मान्छे निकाल्न उनीहरूले सिकाएका हुन् । तपाईंहरुकोमा भत्काउन आयो भने तपाईँहरू हुरुरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईँहरूको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ? उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।‘ ‘अब छाड्ने होइन, मंसिर ७ को तयारीमा लाग्नुस्,’ उनले भने ।
प्रसाईँले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप समेत लगाए । दलहरूले सुकुम्वासीहरूलाई भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए । सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी उनले दिए । सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै छ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।







