काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दसैँ र तिहारकाबीचमा पनि सबै खेलाडीहरूले मेहनत गरेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरेका छन् ।
तीन हप्ताको प्रशिक्षणको अवधिमा खेलाडीहरूले राम्रो तयारी गरेको उनको भनाइ छ । त्यस्तै देश बाहिर रहेका खेलाडी स्वदेश फर्किएर प्रशिक्षणमा सहभागी भएकाले राम्रो टिम बनेको उनले बताए । उनले सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्मको फम्र्याट तयार गर्न आफूले काम गरेको उल्लेख गरेका छन् ।
त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’ले राष्ट्रिय महिला फुटबल टोलीमा अधिकांश नयाँ खेलाडी रहेकाले आगामी खेलका लागि उत्साहित रहेको बताइन् ।
यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टिम मैदानमा उत्रने उनको भनाइ छ ।
नेपाली टोलीले कार्तिक ७ गते इरानको राष्ट्रिय महिला फुटबल टिम र कार्तिक १० र १३ गते भारतको राष्ट्रिय महिला फुटबल टिमसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।







