काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनले तीन वर्ष पुरानो मुद्दाको नाममा गरिएको गिरफ्तारीले राजनीतिक प्रतिशोधको आशंका पैदा गरेको बताएका छन् ।
गुरुङले सोमबार एक वक्तव्य दिँदै भनेका ‘कानुनी रूपमा उक्त मुद्दा त्यतिबेलै समाप्त भइसकेको थियो । सोही मुद्दामा उनका छोरा राहुल महरालाई अदालतले १८ महिनाको कैद सजाय तोकेको र उनले सो सजाय पूरा गरिसकेको स्पष्ट तथ्यका बीच पुनः सो मुद्दा सक्रिय पारिनु प्रश्न वाचक छ ।’
महासचिव गुरुङका अनुसार, अहिले मुलुक राष्ट्रियता र लोकतन्त्रको गम्भीर संकटमा रहेको बेला राजनीतिक उद्देश्यसहित पुराना मुद्दा पुनः खोल्नु चिन्ताजनक छ । उनले भने, ‘देशको स्वाधीनता र स्थायित्व अहिले राजनीतिक दलको एकता र सहकार्यमा टेकेको छ । यस्तो संवेदनशील अवस्थामा कानुनी आवरणमा कुनै पनि प्रकारको षड्यन्त्र हुनु हुँदैन ।’
गुरुङले सरकारलाई निष्पक्ष र स्वतन्त्र न्यायिक प्रक्रियाको सम्मान गर्न आग्रह गर्दै कानुनी प्रणालीलाई राजनीतिक दुरुपयोगको माध्यम बनाउने प्रयास रोकिनुपर्ने बताएका छन् । उनका अनुसार, न्यायपालिकामाथिको जनविश्वास र स्वतन्त्रताको रक्षा सबै दल र सरकारको साझा जिम्मेवारी हो ।
महासचिव गुरुङले विज्ञप्तिमा थप भनेका छन्- ‘हामी न्यायिक निरूपण स्वतन्त्र र निष्पक्ष होस् भन्ने अपेक्षा राख्छौँ । तर कानुनी आवरणमा राजनीतिक प्रतिशोध र षड्यन्त्र नहोस् भन्ने हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण सरकार र सम्बन्धित निकायतर्फ छ ।’
गुरुङले पार्टी उपाध्यक्ष महराको गिरफ्तारीबारे सरकारसँग स्पष्टता माग्दै आवश्यक कानुनी प्रक्रियामा निष्पक्षता सुनिश्चित गर्न आग्रह गरेका छन् ।







