काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज सम्पन्न भएको छ ।
श्रावण २१ गते काठमाडौँको भृकुटिमण्डपमा भएको एक्स्पो एक लाख भन्दा धेरै दर्शकहरूले अवलोकन गरेका छन् ।
नाइमाले पहिलो पटक आयोजना गरेको एक्स्पोमा सवारी साधन मात्रै प्रदर्शनीमा राखिएको थियो । जहाँ पहिलो दिन पन्ध्र हजार, दोस्रो दिन तेह्र हजार पाँच सय, तेस्रो दिन उन्नाइस हजार पाँच सय, चौथो दिन एक्काइस हजार पाँच सय, पाँचौँ दिन बाइसहजार र छैठौँ दिन सात हजार आठ सय दर्शकहरूले अवलोकन गरेको आयोजकले जनाएको छ ।
समापन समारोहमा एक्स्पोसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न सम्पूर्णलाई धन्यवाद दिँदै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो अपेक्षा गरेभन्दा बढी सफल भएको बताइन् । एक्स्पोका प्रायोजक नेशनल इन्श्योरेन्स र एभरेष्ट बैंकका साथै सबै साझेदारहरूको सामूहिक योगदानले एक्स्पो सफल भएको उनले जोड दिइन् ।
‘एक लाखभन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, मोबिलिटी सम्बन्धित प्यानल डिस्कसनमा भएको उत्कृष्ट सहभागिताका साथै तपाईँहरू प्रत्येकले देखाउनुभएको ऊर्जा, विचार, सहकार्य र जोशदेख्दा मलाई नाइमाले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकाश गरेको अनुभव भएको छ’, अध्यक्ष वैद्यले भनिन् ।
नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले नाइमाले एक्स्पोका दौरान पाँच दिनसम्म निरन्तर सिकाईका सत्रहरू सञ्चालन गरी नाइमा सो क्षेत्रको समग्र विकासमा प्रतिबद्ध छ भन्ने सन्देश प्रवाह गरेको बताए। यी सत्रहरू सहभागीहरूका लागि निःशुल्क प्रवेश सहित नेपाल पुलिस क्लबमा नेपाल र भारतका लब्धप्रतिष्ठित विज्ञहरूको सहभागीतामा सञ्चालन गरिएको थियो ।
नाइमाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सरकार, सरोकारवालाहरू, र दातृ निकायहरू तथा उपभोक्ताहरूको सहभागितामा आयोजना गरिने कार्यकारी निर्देशक दुलालले बताए ।
श्रावण २१ गतेदेखि २६ गतेसम्म भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी थिए ।







