काठमाडौँ । शुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तारको क्रममा विस्थापित भएका नागरिकको पुनः स्थापना र व्यवस्थापनको दीर्घकालीन समाधान नहुँदा समस्या झन् जटिल बन्दै गएको सांसद तारा लामा तामाङले बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद तामाङले विस्थापित नागरिक वर्षौँदेखि शिविरमा अत्यन्त कष्टकर जीवन बिताउन बाध्य रहेको भन्दै शीघ्र मानवीय हिसाबले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले भने, “विस्थापितको पुनः स्थापना र व्यवस्थापनका लागि सरकारले हालसम्म ३२ वटा आयोग गठन गरिसकेको छ। तर पनि समस्या समाधान हुन सकेको छैन। पीडित परिवार निराश छन् र शिविरमा कठिन जीवनयापन गरिरहेका छन्।”
सांसद तामाङका अनुसार २०५८ सालमा आरक्षण क्षेत्र विस्तार गर्दा कञ्चनपुरको ढक्का शिविरलगायतका स्थानहरूमा स्थानान्तरण गरिएका नागरिक आजसम्म पनि पुनः स्थापित हुन सकेका छैनन्। उनले पीडितहरूको न्यूनतम आवश्यकता तत्काल सम्बोधन गरी दीर्घकालीन समाधानका लागि नेपाल सरकारसँग आग्रह गरे।
“छिटोभन्दा छिटो मानवीय दृष्टिकोणबाट दीर्घकालीन समाधानतर्फ जानु आवश्यक छ,” तामाङले भने।







