पहिरोले जलविद्युत् बगाउँदा एकवर्षदेखि अन्धकारमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पहिरोले जलविद्युत् बगाउँदा एकवर्षदेखि अन्धकारमा


१० जेष्ठ २०७५, बिहिबार


म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ ।

२०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत् परियोजनाको विद्युत्गृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो ।

विद्युत्को अभावमा विद्यार्थी, स्वास्थ्य चौकी सहित गाउँकै जनजीवन प्रभावित भएको वडाध्यक्ष गमप्रसाद विकले बताए । “विद्युत् आपूर्ति रोकिएको एक वर्ष बित्न लाग्यो, सोलार र टुकी बाल्नुपर्ने बाध्यता छ” विकले भने।

उनले दलितको बसोबास रहेको लुलाङमा गरिबीका कारण सोलार र मैनबत्तीसमेत किन्न नसक्दा बालबालिकाले साँझपख पढ्नबाट वञ्चित भएको दुुखेसो गरे । परियोजनाको अधिकांश संरचना पहिरोले क्षति पु-याएपछि गाउँपालिकाले विनियोजन गरेको २३ लाख बजेटले परियोजना पुनःनिर्माण सम्भव नभएपछि अलपत्र परेको उनले जानकारी दिए । तीनसय २५ घरधुरीले प्रयोग गर्ने परियोजनालाई नयाँ ठाउँमा सञ्चालन गर्न सर्वेसहितको प्राविधिक काम सकिएको गाउँलेले बताएका छन् ।

परियोजना बन्द भएपछि केही गाउँलेले ऋण लिएरसमेत सोलार जडान गरेका छन् । “गाउँले मर्कामा परेका छन्, विकट बस्तीमा सरकारी बजेटले प्राथमिकता पाउन सकेन” स्थानीय बृद्ध टेकलाल रसाइलीले भने । रासस

प्रतिक्रिया दिनुहोस