काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ घर भएकी हाल काठमाडौँ महानगरपालिका-१५ मा बस्ने २९ वर्षीया जुनु राना थापा मगर र बर्दिया गुलरिया घर भएका हाल काठमाडौँ महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सुदिप कुमार यादव रहेका छन् ।
जुनुले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख १० हजार रुपैयाँ र सुदिपले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ५४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







