काठमाडौँ । मधेश प्रदेश सभाको बैठक प्रतिपक्षी छ दलले बहिष्कार गरे पनि आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटसम्बन्धी विनियोजन विधेयक पारित गरिएको छ ।
बजेटमा बिचौलिया हाबी भएको र २९४ पानका करिब ८ हजार योजना संसद छलेर ल्याएको भन्दै अर्थमन्त्री सुनिल यादवको राजीनामा माग्दै प्रतिपक्षी नेकपा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एससहितका ६ दलका सांसदहरुले बैठक बहिष्कार गरेका छन् ।
प्रतिपक्षी सबै दलले बहिष्कार गरे पनि सभामुख रामचन्द्र मण्डलले बैठकको कारवाही अगाडी बढाए । प्रतिपक्ष विहीन संसदमा अर्थमन्त्री यादवले विनियोजन विधेयकमाथि छलफलको प्रस्ताव गरे, छलफल पनि भयो । छलफलमा उठेको प्रश्नहरूको विभागीय मन्त्रीहरूले जवाफ पनि दिए । र, उक्त विधेयक ध्वनी मतका आधारमा सर्वसम्मतले पारित भएको घोषणा सभामुखले गरेका छन् ।
सरकारले असार १ मा आर्थिक बर्ष २०८२/०८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । विनियोजन विधेयक पारित भएसँगै साउन १ देखि सरकारलाई रकम खर्च गर्ने बाटो खुला भएको छ ।







