काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा एउटा मोटरसाइकल अनियन्त्रित भएर स्कुटरमा ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ ।
चन्दागिरि नगरपालिका-१५ तीनथानास्थित सडकमा आज बिहान बा ८५प ४८२२ नंको मोटरसाइकल बा प्र ०२-०४२ प ९८२२ नंको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।







