उपप्रमुख भन्छिन्, “पालिकाको कुन हिसाब हुन्छ, जुन उपप्रमुखले माग्दा पनि कर्मचारीले देखाउन सक्दैनन् ?”
मोरङ । मोरङको बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट असार १० गते मंगलबार सार्वजनिक गरे पनि बजेटमाथि छलफल र स्वीकृति प्रक्रिया अगाडि बढ्न नपाउँदै आन्तरिक विवाद सतहमा आएको छ ।
बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइराला) ले नगरपालिकाले विभिन्न शीर्षकमा विनियोजन गरेको बजेट हेर्न पाउनुपर्ने माग गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुख धनमाया राईलाई केही शीर्षक र कर्मचारीहरूले पाउँदै आएका विभिन्न भत्तासम्बन्धी विवरण माग गरेकी थिइन् ।
तर लेखा प्रमुख राईले त्यस्तो विवरण गोप्य भएको भन्दै उपप्रमुखलाई सो हिसाब देखाउन नमिल्ने जवाफ फर्काइन् । केही खर्च शीर्षकमाथि अस्वाभाविकता तथा अनियमितता देखिएपछि आफूले खर्च विवरण माग गरेको उपप्रमुखले बताइन् ।
उपप्रमुख कोइरालाले आफैँ अनुगमन समितिको संयोजक रहेकाले नगरपालिकाको खर्चबारे जानकारी माग्दा समेत लेखा प्रमुखले ‘हेर्न नमिल्ने’ भनेर पन्छिनु शंकास्पद भएको प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्, “पालिकाको कुन हिसाब हुन्छ, जुन उपप्रमुखले माग्दा पनि कर्मचारीले देखाउन सक्दैनन् ।”
नगरपालिकाको केही खर्च शीर्षकमाथि वडाका जनप्रतिनिधिहरू र स्थानीयहरूबाट गुनासा आएको र आफूले त्यसबारेमा जवाफ दिनुपर्ने भएकाले पनि विवरण माग गरेको बताइन् । “ म पालिकामा अस्वाभाविक खर्च देखेर प्रश्न गरिरहेकी छु, तर जवाफ आउनुको साटो उल्टै गोप्य भनेर लुकाउने प्रयास भइरहेको छ,” उनले भनिन् । लेखा प्रमुख राईले विगतमा पनि नगरपालिकाका जनप्रतिनिधिसँग समन्वय नगरी आफूखुसी भुक्तानी गर्ने गरेको उपप्रमुख कोइरालाले बताइन् ।
पालिका प्रमुख मौन
पालिकामा बजेटको विषयलाई लिएर विवाद भइरहँदा पालिका प्रमुख भने मौन छन् । उपप्रमुखले नगर प्रमुख दिलप्रसाद राईलाई उक्त विषयमा जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नदिएको बताइन् । “नगरपालिकाको दोस्रो जिम्मेवार पदाधिकारीले हिसाब माग्दा समेत जवाफ नपाउनु र प्रमुख मौन बस्नु आफैँमा प्रश्न उठाउने विषय हो,” उनले भनिन् । उनले पालिकाको बारेमा उपप्रमुखले केही जानकारी लिँदा कर्मचारीले चर्को स्वरले झर्केर मिल्दैन भन्नु र पालिका प्रमुख पनि केही नबोल्नु आफ्नो सूचनाको हकमा हनन भएको गुनासो पोखिन् ।
यस विषयमा लेखा प्रमुख राईसँग प्रशासन डटकमले प्रतिक्रिया लिन खोज्दा उनले फोन नै उठाइनन् । उनले यही असार १० गतेसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकी थिइन् । संघ सरकारले केही समयअघि मात्र सञ्जय बहादुर राजलवटलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा बेलबारी पठाएको छ । उनी भर्खर पालिकामा गएकाले पालिकामा के भइरहेको छ भन्ने कुरामा अनविज्ञ छन् । राजलवट अघि पालिका लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत कै भरमा चल्दै आएको थियो ।
देशका धेरै स्थानीय तहहरू हाल पनि स्थायी प्रमुख प्रशासकीय अधिकृत अभावमा निमित्तकै भरमा सञ्चालन भइरहेका छन् । विज्ञहरूका अनुसार यस्तो अवस्थाले पारदर्शिता, जबाफदेहिता र निर्णय प्रक्रियामा गम्भीर असर पारिरहेको छ ।
लेखा प्रमुख राई करिब सात वर्षदेखि यसै पालिकामा कार्यरत छिन् । “उहाँ पालिकामा सात वर्षदेखि कार्यरत हुनुहुन्छ, अहिलेसम्म सरुवा भएको छैन,” कोइरालाले भनिन्, “यसले पनि पालिकाभित्र एकलौटी निर्णय र यस्तो कार्यशैली मौलाएको देखिन्छ ।”







