बाँके । बाँकेको कर्णाली भनेर चिनिने नरैनापुर गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक विकास र कृषि लगायतका विषयलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८२/०८३ का लागि ५१ करोड बढीको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गाउँभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उपाध्यक्षका तर्फबाट वडा नम्बर ६ का वडा अध्यक्ष एवम् सभाका सदस्य प्रेमचन्द्र मौर्यले ५१ करोड ६३ लाख ३८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरे । पालिकाको नीति कार्यक्रममा कृषितर्फ ‘कृषि उपज बजारसम्म मुनाफा किसानको खल्तिसम्म’ पुग्ने गरी मूर्त र वस्तुवादी कार्यक्रम बनाउने उल्लेख गरिएको छ ।
कृषि पकेट क्षेत्रको विकास र विस्तार गर्दै एक टोल एक उत्पादन कार्यक्रम तर्जुमा गर्ने, किसान सूचीकरण तथा परिचय पत्र वितरणको कामलाई यथाशीघ्र लागु गर्ने, रैथाने बाली संरक्षण गर्ने र जैविक खेती किसानको कार्यक्रम लागु गर्ने नीति ल्याइएको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिए ।

वलीका अनुसार, शिक्षातर्फ ‘शिक्षा विशेष’ कार्यक्रमलाई निरन्तरता दिँदै प्रविधिमैत्री, संस्कृतिमैत्री शिक्षा कार्यक्रमलाई जोड दिँदै सामुदायिक विद्यालयमा पूर्वाधारयुक्त प्रविधिमा आधारित गुणस्तरीय र व्यवहारिक र वैज्ञानिक शिक्षा शिक्षण पद्धति सञ्चालन गर्ने, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न दलित, विपन्न, द्वन्द्व पीडित असहाय छात्र छात्रालाई प्रोत्साहन गर्न पोसाक तथा शैक्षिक सामाग्री वितरणलाई सहज र सुलभ बनाइने नीति गाउँपालिकाले लिएको छ ।
शिक्षक तथा विद्यार्थीहरूमा भाषिक शुद्धता र स्पष्ट रूपमा वर्ण मिलाई लेखन सिप विकास गर्न अक्षर सुधार कार्यक्रमलाई क्रमशः पालिका भरका सबै विद्यालयमा विस्तार गर्ने नीति लिइएको छ । यसैगरी स्वास्थ्यतर्फ किशोरी, गर्भावस्था र सुत्केरी स्वास्थ्य सचेतना एवं बहु क्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्ने, बर्थिङ सेन्टर र प्रयोगशालाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउने, १५ शय्याको अस्पताललाई भौतिक पूर्वाधारसहित दक्ष जनशक्तिको व्यवस्थापन गरी सञ्चालन गर्न विशेष व्यवस्था गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।
पर्यटनतर्फ जिल्लाकै हब बनाउने घोषणा गर्दै थप विकासका ढोका खोलेको उल्लेख गरेको छ ।







