काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न प्लास्टिक झोला नियन्त्रण सम्बन्धी कार्य योजना कार्यान्वयन गरिने बताएका छन् ।
प्रतिनिधि सभामा प्रस्तुत भएको बजेटमाथिको मन्त्रालयगत छलफलमा रूपमा सांसदहरूले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै वन मन्त्री शाहीले यसअघि निर्माण भएका प्लास्टिक झोला सम्बन्धी नियन्त्रण कार्य योजना कार्यान्वयन गर्ने बताएका हुन् ।
विकास र वातावरणलाई सँगसँगै लैजान वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति प्रक्रियालाई सरल बनाउन नियमावली संशोधन गरिने पनि मन्त्री शाहीले बताएका छन् ।
उनले कार्बन व्यापारलाई व्यवस्थित गर्न कार्बन व्यापार नियमावली तर्जुमा अन्तिम चरणमा पुर्याइएको जानकारी दिए ।
जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न अन्तर्राष्ट्रिय जलवायु वित्त र प्रविधिमा नेपालको पहुँच बढाइने योजना मन्त्रालयको रहेको मन्त्री शाहीले बताएका छन् ।







