पाटन (ललितपुर) । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयसापेक्ष विश्लेषण गरेर जैविक खेती र रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ भन्ने बताएका छन् ।
खाद्यका लागि कृषि अभियानले २०८२ गत वैशाख ९ गतेदेखि यही जेठ ७ गतेसम्म भएको जैविक कृषि जागरण यात्रा २०८२ को सन्देश सार्वजनिक समारोहमा उनले कृषि कर्म गर्ने सबैलाई सहयोग गर्ने र खाद्यका लागि जैविक कृषि प्रणालीलाई प्रवर्द्धन गर्नका लागि प्राप्त सुझावअनुसार काम गर्न मन्त्रालय तत्पर रहेको जानकारी दिए ।
उनले भने ,“धेरै विषादी प्रयोग न्यूनीकरण आवश्यक छ, भावी सन्ततिका बारेमा पनि चिन्ता गर्नुपर्ने हुन्छ, रासायनिक मलका साथै हामीले प्राङ्गरिक मललाई पनि जोड दिनुपर्छ, प्राङ्गारिक मललाई बढवा दिएर रासायनिक मललाई निरुत्साहित गर्दा सफल हुन सकिन्छ । ”
उनले जैविक कृषिले सबै नेपालीलाई आत्मनिर्भर बनाउने कार्यमा सबै मिलेर लागौँ भन्ने धारणा राखे । “रासायनिक मल पर्याप्त दिन सकेन भनेर सरकारको आलोचना हुन्छ, अनि फेरि जैविक खेतीका लागि प्राङ्गारिक मलको पनि कुरा हुन्छ, यसमा जोड दिऔँ न, खाद्य स्वच्छताका लागि जोड दिनुपर्छ”, उनले भने ।
उनले सिंगै नेपालीलाई आत्मनिर्भर बनाउने गरी उत्पादन र त्यसको उपलब्धि हेरेर १५ देखि ८५ प्रतिशतसम्म अनुदान दिने काम सरकारी तहबाट भएको बताए ।