काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्य पहाडी लोकमार्ग केन्द्रित जनअभियान सञ्चालन गरिएको बताएका छन्। उनले स्थानीयतालाई संरक्षण र प्रवर्द्धन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै रहेको दाबी गरे।
उनले अभियान अन्तरगत सुर्खेतको राकम कर्णालीमा आइतबार आयोजित जनसंवाद कार्यक्रममा सुशासन प्रवर्द्धन गर्न र आवश्यकता परे भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए।
यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको उनले बताए। गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपांग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको उनको भनाइ थियो।