काठमाडौँ । कोशी प्रदेश सभाको बर्खे अधिवेशन (सातौँ अधिवेशन) आइतवारबाट सुरु हुँदैछ ।
सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो २ बजेबाट विराटनगरस्थित सभा हलमा सुरु हुने प्रदेश सभाका कार्यवाहक प्रदेश सभा सचिव गौतम राज अमात्यले बताए ।
उनका अनुसार बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे सदनमा जानकारी गराइनेछ । त्यसै गरी, बैठकमा सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले आ-आफ्नो धारणा राख्ने उनको भनाई छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ सभामा टेबुल हुनेछ ।
बैठकका लागि वैशाख २४ गते प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको बर्खे अधिवेशनका लागि प्रदेश प्रमुख खापुङ समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसलाई सदर गर्दै प्रदेश प्रमुखले जेठ ४ गतेका लागि बैठक आह्वान गरेका हुन् ।
