मेयरको मौखिक आदेशमा लाखौँ भुक्तानी गर्न दबाब, नमानेपछि कुटपिट ! कानुनविपरीत काम गर्न बाध्य पार्ने मेयरविरुद्ध प्रशासकीय अधिकृतको मुद्दा, के होला न्याय ?
काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले मेयर किशोरी साह कलवारविरुद्ध मुद्दा दायर गरेका छन् । कानुनविपरीत भुक्तानी गर्न अस्वीकार गरेपछि मेयरले आफूलाई घरमै बोलाएर कुटपिट गरेको आरोप अधिकृत जयसवालले लगाएका छन् ।
मेयर कलवारले मौखिक आदेशमा लाखौँ रुपैयाँ भुक्तानी गर्न दबाब दिएको, तर कानुनविपरीत कार्य गर्न नमानेपछि आफूमाथि हातपात भएको जयसवालको भनाइ छ । उनले भने, “कानुनविपरीत काम गर्न अस्वीकार गर्दा मलाई कुटपिट गरियो । पालिकाबाट न्याय नपाएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेको हुँ ।”
जयसवालले कुटपिटको घटनाबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका छन् । मेयर र उनका समर्थकहरूले मौखिक आदेशमा कानुनविपरीत रकम भुक्तानी गर्न दबाब दिँदा अस्वीकार गरेपछि हातपात गरेको उनले गुनासो गरे ।
घटना के थियो ?
यस वर्षको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाका लागि अतिथि सेवा र सरसफाइ शीर्षकमा कार्यपालिका बोर्डले १० लाख रुपैयाँ छुट्याएको थियो । तर, मेयर कलवारले मेला शीर्षकमा २७ लाख, वृक्षारोपणमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोहमा १० लाख र बाटो सरसफाइमा १९ लाख रुपैयाँ भुक्तानी गर्न पटक–पटक दबाब दिएको अधिकृत जयसवालले बताए ।
गत मङ्गलवार (१३ गते) बिहान १० बजेदेखि ४ बजेसम्म मेयर कलवार र सिम्रौनगढ समारोहकी अगुवा ममता शर्माले पटक–पटक फोन गरेर छलफलका लागि मेयरको निवासमा बोलाएका थिए । मेयरको घरमा पुग्दा ममता शर्माको १० लाखसहित ७१ लाख रुपैयाँ भुक्तानी गर्न मेयरले पुनः दबाब दिए । जयसवालले मेला शीर्षकमा १० लाखबाहेक अन्य रकम कानुनी प्रक्रियाबिना भुक्तानी गर्न नसकिने बताएपछि मेयर र उनका समर्थकले कुटपिट गरेको उनको आरोप छ ।
पालिकाका कर्मचारीहरूका अनुसार, मेयर र उनका समर्थकले एक महिनाअघि योजनाका प्रमुखमाथि पनि हातपात गरेका थिए । व्यक्तिगत स्वार्थका लागि प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने मेयरविरुद्ध कडा कारबाहीको माग गर्दै नगरपालिकाका कर्मचारीहरू १३ गतेदेखि आन्दोलनमा छन् । दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ । सेवाग्राहीले समस्या नभोगून् भनेर कर्मचारीहरूले कालोपट्टि बाँधेर काम गरिरहेका छन् ।

मेयर किशोरीप्रसाद कलवारसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । जनप्रतिनिधि र कर्मचारीबीचको विवादले सेवा प्रवाहमा केही समस्या भएको सूचना अधिकारी सुरेश यादवले बताए ।