काठमाडौँ । पोर्चुगल सरकारले आम चुनावको ठीकअघि १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ । अधिकारीहरूका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरूकै देश फर्काउन लागेको हो ।
पोर्चुगलमा १८ मेमा मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ । चुनावी अभियानको क्रममा पोर्चुगलका एक मन्त्री एन्तोनियो लेइतो अमारोले सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिने बताएको समाचार एजेन्सी एपीले जनाएको छ । यसका लागि सूचना जारी गर्ने ती मन्त्रीको भनाइ छ ।
यो कारबाही आगामी हप्तादेखि सुरु गर्ने तयारी छ । सुरुवातमा ४ हजार ५०० जना विदेशी नागरिकहरूलाई स्वेच्छाले पोर्चुगल छाड्न आदेश दिइनेछ । त्यसरी देश छाड्नका लागि उनीहरूलाई २० दिनको मौका दिइने छ । त्यसपछिका चरणमा पनि यो अभियान जारी रहने छ ।