म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ स्थित दर खोलामा तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।
मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गत जेठ महिनामा रु. दुई करोड ३१ लख ३६ हजार सात सय ५० मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले मुनातर्फको जिप निर्माण सकेको र दरतर्फ अन्तिम चरणमा पुर्याएको छ ।
पचास प्रतिशत निर्माण सकिएको यो पुलबाट धवलागिरि–३ र ४ मा पर्ने एक हजार दुई सय घरपरिवारका साथै धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकहरू लाभान्वित हुने धवलागिरि–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए ।
दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दालाई गाउँपालिकाको केन्द्र मुना आउन जान तीस मिनेट घुमाउरो र उकालो बाटो पाँच मिनेटमा छोटिने उनले बताए । यसैगरी दर गाउँका विद्यार्थीहरूलाई मुनाको धवलागिरि र फलीयागाउँको धनजनता माविमा आउन जान पनि सहज हुने भएको छ ।
विसं२०८२ को मंसिर महिनासम्मको म्याद भए पनि यसै आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए ।