काठमाडौँ । राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्ने माग गरेका छन् ।
राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्ने क्रममा राष्ट्रपतिबाट मनोनीत भएका सांसद तथा नेकपा एकता अभियानका नेता गौतमले वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताए ।
गौतमले भने, ‘समाजवाद निर्माण गर्नका लागि म आफूलाई दाउमा राख्न चाहन्छु । यदि समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिइयोस् । वर्ष तोकेर समाजवाद निर्माण गर्न सकिएन भने मलाई फाँसीमा चढाए हुन्छ ।’
गौतमले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दाबी समेत गरे । वर्षमा १४ खर्ब रुपैयाँ खर्च गरेर समाजवाद ल्याउने आधार आफूसँग रहेको उनको भनाइ थियो । उनले पुँजीवाद अब यहाँभन्दा अगाडि नजाने भन्दै पुँजीवादबाटै नेपालमा समाजवाद आउने बताए ।







