काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारी प्रशासन शाखाले पद अनुसार आचरण र मर्यादा पालन गर्न भन्दै कर्मचारीलाई निर्देशन जारी गरेको छ ।
पछिल्लो समय सचिवालयमा कार्यरत केही कर्मचारीहरू जानकारीबिना कार्यालयमा अनुपस्थित हुने, हाजिर गरेर कार्यालयमा पूरा समय नबस्ने, तोकिएको पोसाक नलगाउने, अनुशासन र आज्ञापालन नगर्ने गरेको भन्दै प्रशासन शाखाले निर्देशन जारी गरेको हो ।
शाखा अधिकृत पवन महतद्वारा हस्ताक्षर गरिएको सूचनामा कार्यालयको कामकारबाहीको सम्बन्धमा सम्बन्धित शाखा वा पदाधिकारीसमक्ष गुनासो नराखी सामाजिक सञ्जाल लगायतका अनौपचारिक फोरमहरूमा अनावश्यक टीकाटिप्पणी र अमर्यादितरुपले प्रस्तुत भएको उल्लेख छ ।
