काठमाडौँ । डा. बैकुण्ठ अर्यालले राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गरेका छन्। आइतबार अपराह्न तीन बजेतिर योजना आयोग पुगेर उनले हाजिर गरेका हुन्।
भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २० कात्तिकमा रमाना पठाएको थियो। १४ कात्तिकमा सफाइ पाएका उनले २० कात्तिकको निर्णयअनुसार आयोगमा हाजिर गरेका हुन्।
तर, स्रोतका अनुसार, वर्तमान जिम्मेवारीप्रति असन्तुष्ट अर्यालले राजीनामाको तयारी गरिरहेको चर्चा सिँहदरवारमा छ। उनको ठाउँमा नयाँ मुख्यसचिव नियुक्ति भई सकेको अवस्थामा सोही स्तरको पदमा आयोगमा कुनै खास र स्पष्ट जिम्मेवारीबिना बस्न उपयुक्त नहुने भन्दै राजीनामाको मुडमा रहेको ती स्रोतले जानकारी दिएका छन् ।
डा. अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। विशेष अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको हो।
भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्टै १० असारमा मन्त्रिपरिषद्ले उनलाई योजना आयोगमा सरुवा गर्ने निर्णय गर्दै विशिष्ट श्रेणीको पद सिर्जना गरेको थियो। तर, यो पदमा कुनै स्पष्ट कार्यक्षेत्र भने तोकिएको थिएन ।







