सत्तल बनाउन एउटै परिवारद्वारा दुई लाख बढी सहयोग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सत्तल बनाउन एउटै परिवारद्वारा दुई लाख बढी सहयोग


१२ चैत्र २०७४, सोमबार


पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा निर्माणाधीन राधाकृष्ण मन्दिरको सत्तल निर्माणमा एक युवाले सहयोग गरेका छन् ।

साविकको शंकरपोखरी–४ राहालेपानी घर भई हाल नेपालगञ्जमा व्यवसाय गर्दैआएका राजुप्रसाद काफ्ले र उनकी पत्नी सीमा काफ्लेले दिवंगत बाबुआमा अनिरुद्र÷मोतीकुमारी काफ्लेको स्मृतिमा दुई लाख एक हजार १११ सहयोग गरेका हुन् ।

रामनवमीको अवसरमा मन्दिरमा आयोजित कार्यक्रममा उनका आफन्त सन्तोष रिमालले काफ्लेले पठाएको रकम मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको समितिका सचिव हरिप्रसाद तिवारीले बताए ।

सत्तल निर्माणको काम अहिले चलिरहेको छ । सत्संग समाजले मन्दिरको सत्तल निर्माण गर्न लागेको हो । केही वर्ष पहिले राधाकृष्ण मन्दिर बनाइएको थियो । सोही मन्दिर परिसरमा सत्तल बनाउन लागिएको हो । सत्तल बनाउन सहयोगको खोजी भैरहेको तिवारीले बताए ।

राधाकृष्ण मन्दिरले विपन्न परिवारलाई सघाउन धर्म भकारी’ सञ्चालन गर्दै आइरहेको छ । गाउँमा आगलागी पीडित, विपन्न परिवार तथा खाद्यान्न अभाव झेलेको परिवारलाई हरेक वर्ष खाद्यान्न वितरण गर्दै आएको सत्संग तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा निर्माणाधीन सत्तलमा आर्थिक अभाव भएको बताएपछि आफूले सहयोग गरेको काफ्लेले बताए । रासस

प्रतिक्रिया दिनुहोस