काठमाडौँ। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज गृह मन्त्रालयद्वारा आयोजित बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन (२०७२ असोज ३) लाई राष्ट्रियरुपमा मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू र जनस्तरमा समेत दीपावलीलगायतका विविध कार्यक्रम तय गरेको छ ।
असोज २ गते काठमाडौँको नारायणहिटी (दरबारमार्ग) मा सांगीतीक महोत्सव (नेसनल डे कन्सर्ट) र दिवसका दिन असोज ३ गते काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम गर्ने तय भएको छ ।
यस्तै असोज ४ गते सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ-संस्थाका कार्यालयको छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने, सार्वजनिक सवारी साधनहरूमा राष्ट्रिय झण्डा फहराउन आव्हान गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षबाट संविधान प्राप्त भएकाले संविधान दिवसलाई राज्यस्तरबाट मनाइनुका साथै सबै जाति, समुदाय र भूगोलका जनताले स्वतःस्फूर्तरुपमा भव्यरुपमा दिवस मनाउनुपर्ने बताए । उनले सामाजिक जीवनका सबै क्षेत्र परिचालित हुने गरी संघ, प्रदेश र स्थानीय तहबाट कार्यक्रम हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, “संविधान दिवस देशको सबैभन्दा ठुलो चाड हो । यो कुनै जाति, समुदाय र भूगोल विशेषको होइन, सिंगो देशको वार्षिक मेला हो । त्यसअनुसार मनाउने तयारी गर्न म सबैलाई आग्रह गर्दछु।’’
दिवसको मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्रांकीत अधिकृतहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, काठमाडौँ उपत्यकास्थित नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव, सदस्य–सचिव रहेका छन् छ ।
दिवसका लागि मूल समारोह समितिका साथै प्रचार-प्रसार, बृहत् जनसहभासगितासहित राष्ट्रिय गीतहरूको कन्सर्ट कार्यक्रम, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन, ग्राउण्ड, कवाज तथा व्यायाम व्यवस्थापन, मञ्च सजावट तथा व्यवस्थापनका लागि उपसमिति पनि गठन गरिएको छ ।







