काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव अवधकिशोर प्रसाद कुशवाहासमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दार गरेको छ ।
ईलाका प्रहरी कार्यालय, गौशाला महोत्तरीको कम्पाउण्ड वाल निर्माण कार्यमा गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको आरोपमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं. २ जनकपुरधाममा कार्यरत तत्कालीन उपसचिव कुशवाहासमेत ४ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ईलाका प्रहरी कार्यालय, गौशाला, महोत्तरीको कम्पाउण्ड वाल निर्माण कार्यमा गुणस्तरहीन कार्य गरेको एवं डिजाइन सम्झौता भन्दा फरक गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन परेको थियो ।
निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उपसचिव कुशवाहा, पूर्वाधार विकास कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार र करार सेवामा कार्यरत तत्कालीन इन्जिनियर राममनिज यादवले वाल निर्माण कार्यमा ठेक्का प्रक्रियादेखि भुक्तानी सम्मको कार्यमा संलग्न रही फिल्डमा हुँदै नभएको कार्यको काम भएको हो भनी नापी किताब, बिल र सोही अनुसार कार्य सम्पन्न प्रतिवेदन लगायतका कागजातहरू तयार एवं प्रमाणित गरी भुक्तानी आदेश र गोश्वारा भौचर सदर गरी रु. पाँच लाख एकतीस हजार चार सय अठ्ठाइस रुपैयाँ पैसा सत्तरीबढी भुक्तानी गराई गैरकानुनी लाभ पुर्याएको र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याएको अख्तियारको दाबी छ ।
यस्तै जायसवाल कन्स्ट्रक्सनका निर्माण व्यवसायी–सञ्चालक राकेश प्रसाद जायसवालले निर्माण कार्यमा मिलेमतो गरी भुक्तानी लिएको आरोपमा जयसवालविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।







