काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२, २३ र २४ अन्तर्गत फुटपाथ विस्तार कार्यमा सहजीकरण गर्न समिति गठन गरिएको छ ।
आज नगर प्रमुख समेतको उपस्थितिमा भएको बैठकबाट सहरी योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गर्ने निर्णय भएको हो ।
सम्बन्धित वडाका वडाध्यक्षका साथै विषय विज्ञ समेत रहने यस समितिमा सार्वजनिक निर्माण विभागका प्रमुख सदस्य सचिव रहनेछन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २४ वडा क्षेत्रमा फुटपाथ विस्तार गरे पश्चात् उक्त क्षेत्रमा पर्ने स्थान विशेषको आर्थिक, सांस्कृतिक, सामाजिक, ट्राफिक व्यवस्थापन र पैदल यात्रीलाई पर्ने प्रभावको समग्र अध्ययन विश्लेषण गर्ने, काठमाडौँ महानगरपालिका वडा नम्बर २२ र २३ वडा क्षेत्रमा हाल फुटपाथ विस्तार हुनुपूर्वको र फुटपाथ विस्तार भए पश्चातको स्थान विशेषको आर्थिक, सांस्कृतिक, सामाजिक, ट्राफिक व्यवस्थापन र पैदल यात्रीलाई पर्ने प्रभावको समग्र पक्षको अध्ययन विश्लेषण गर्ने, माथि प्रकरण नम्बर (क) र (ख) मा उल्लेख भएका विषयमा प्राविधिक रूपमा वस्तुगत विश्लेषण गरिएको राय सुझाव सहितको प्रतिवेदन २०८१ मंसिर २ गते भित्र काठमाडौँ महानगरपालिका प्रमुखसमक्ष पेश गर्ने, काठमाडौँ महानगरपालिका वडा नम्बर २२ र २३ वडा क्षेत्रमा फुटपाथ विस्तारको कार्य सम्बन्धमा समितिले अध्ययन विश्लेषण गरी सिफारिस सहितको प्रतिवेदन प्राप्त भएपछि छलफल गरी कार्यान्वयन गर्ने समेत निर्णय भएको छ ।