काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी आवागमनलाई असर नपर्ने गरी पृथ्वीराजमार्गको काम छिटो सक्न निर्देशन दिएका छन् ।
शुक्रबार पृथ्वी राजमार्ग (मुग्लिन-पोखरा सडक-खण्ड) विस्तारको काम निरीक्षण गरेपछि मन्त्री ज्वालाले सो निर्देशन दिएका छन् । मन्त्री ज्वालाले उक्त सडक-खण्डअन्तर्गत पर्ने पोखरादेखि तनहुँको मादी नदीसम्मको क्षेत्र निरीक्षण गरेका हुन् ।
सडक विस्तारको काम निरीक्षण गर्दै मन्त्री ज्वालाले सडक विस्तारमा गुणस्तरीयतासँगै सवारी साधन आवागमनमा अवरोध नपुर्याउन ठेकेदार कम्पनीहरूलाई निर्देशन दिएका छन् । सडकको दुवैतर्फ खाल्डाखुल्डी बनाएर सवारी आवागमन नै समस्या पार्ने गरी भइरहेको कामप्रति भने उनले असन्तुष्टि पोखेका छन् ।
मन्त्री ज्वालाले पछिल्लो समय कामको गति बढेको भन्दै सन्तोष व्यक्त गरेका छन् । निरीक्षणमा मन्त्रीसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत थिए ।
गण्डकी प्रदेश राजधानीलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग चार लेन बनाउन यतिबेला विस्तारको काम भइरहेको छ ।