अधिकार स्थापित गर्न संघीय सरकारसँग सहकार्य र सङ्घर्ष दुवै गर्छौँ : मुख्यमन्त्री कार्की « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

अधिकार स्थापित गर्न संघीय सरकारसँग सहकार्य र सङ्घर्ष दुवै गर्छौँ : मुख्यमन्त्री कार्की


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफ्ना अधिकार स्थापित गर्न प्रदेश सरकारले केन्द्रीय सरकारसँग सहकार्य र सङ्घर्ष दुवै गर्ने बताएका छन्।

मंगलबार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आउँदा दिनमा प्रदेश सरकारले संघीय सरकारसँग समन्वय, सहकार्य मात्र नभई सङ्घर्ष पनि गर्ने बताएका हुन्।

मुख्यमन्त्री कार्कीले सरकारलाई गति दिन पुरातन सोचबाट बाहिर निस्कनुपर्ने बताए। मुख्यमन्त्री कार्कीले भने, ‘हामी पुरातन सोचमा सीमित रहेसम्म अघि बढ्न सकिँदैन। हामीले के गर्ने हो भन्ने कुराको योजनाका साथ अघि बढ्नुपर्ने हुन्छ। हालको सरकारले सङ्घ सरकारसँग समन्वय मात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न सङ्घर्षसमेत गर्नेछ।’

कार्यक्रममा उनले सरकारको दिगो विकासका लागि लक्ष्य बनाएर काम गर्ने बताए। प्रदेशको बजेट आइसकेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेश, सङ्घ र स्थानीय तहले गर्ने कामकारबाहीको मापदण्ड बनाइनुपर्नेमा जोड दिए।

कार्यक्रममा केन्द्रीय सरकारकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले तीन तहको सरकारको समन्वयबाट मात्र विकासको गतिविधिले सार्थकता पाउने बताइन्। सङ्घीयता सफल बनाउँदै तीन तहको सरकारलाई समृद्ध बनाउन रोडम्याप आवश्यक हुने उनले बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस