काठमाडौँ । एमाले सांसद रघुजी पन्तले इजरायलमा नेपाली विद्यार्थीहरू मारिएको घटनाभन्दा अघि बोलेको अभिव्यक्तिलाई काँटछाँट गरी भ्रम उत्पन्न गरेको भन्दै त्यस्ता भिडियोहरू हटाउन माग गरेका छन् ।
उनले मंगलबार प्रेस वक्तव्य जारी गर्दै यस्ता कार्य रोक्नका लागि सम्बन्धित क्षेत्रको ध्यानाकर्षणसमेत गराएका छन् ।
‘इजरायलमा नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परि मारिएको समाचार आउनुभन्दा अघि बोलेका कतिपय बोलीहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडियो बनाएर टिकटक, युट्युब आदिमा राखी केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ‚ ‘सांसद पन्तले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्नेगरी भिडियो बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएकाले यस्ता भिडियोहरू हटाउन माग गर्दछु ।’
उनले इजरायलमा रहेका नेपालीहरूलाई तदारुकताका साथ छिटो उद्धार गर्न र मृतकका परिवारलाई इजरायली सरकारबाट समेत थप क्षतिपूर्ति उपलब्ध गराउनका लागि कूटनीतिक पहल गर्न अनुरोध गरेका छन् ।








