काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकलाई फिल्म छायाङ्कन र निर्माणको हबको रूपमा विकास गरेर लैजानुपर्ने बताएकी छन् ।
काठमाडौँमा आयोजित चलचित्र विकास बोर्डको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाललाई फिल्म छायाङ्कनको नवीनतम गन्तव्यको रूपमा विकास गर्नुपर्ने बताइन् ।
नेपालको भौगोलिक र सांस्कृतिक अनुकूलताले यो सम्भव रहेको चर्चा गर्दै उनले भनिन्, ‘चलचित्र निर्माणका सन्दर्भमा नेपाल खुला स्टुडियो हो । विश्वभर प्रचारप्रसार गरौँ । यसलाई अनुपम हबका रूपमा विकास गर्न सक्ने आधार निर्माण गर्न सरकारले सहयोग गर्नेछ ।’
विद्यमान चलचित्र ऐन परिमार्जन गरेर यस क्षेत्रका समस्याको समाधान गर्न सरकार लागिपरेको उनले बताइन् । स्वदेशी फिल्मको नीतिगत आधार तयार गरिने भन्दै मन्त्री शर्माले चलचित्र क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । उनले भनिन्, ‘सरकारले लिने नीतिबाटै नेपाली चलचित्र संरक्षण हुनुपर्छ । दोस्रो कुरा– प्रतिस्पर्धा नै हो । हामीले स्वदेशी चलचित्रको गुणस्तर सुधारेर यसलाई हेर्ने बनाउनैपर्छ । त्यसो गर्दा विषयवस्तु, प्रस्तुति र देशको आवश्यकताका दृष्टिले चलचित्र क्षेत्र अघि बढ्न सक्छ ।’
गणतन्त्र, सङ्घीयता, समावेशिताजस्ता महत्त्वपूर्ण कुरा स्थापित भएर कार्यान्वयनको चरणमा रहेको भन्दै मन्त्री शर्माले नीतिगत र कानुनी समस्या रहेको बताइन् । ‘यसबारे संवैधानिक र कानुनी व्यवस्था हामीले गरेका छौँ । जनमानसमा जानकारी पुर्याउने प्रभावकारी माध्यम चलचित्र पनि हो,’ उनले भनिन् ।
समाज रूपान्तरणको सन्दर्भमा भएका घटनालाई प्रवर्द्धन र उठान गर्ने मौलिक चलचित्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको उनले बताइन् । चलचित्र क्षेत्रका समस्या समाधान गर्नका लागि सबै पक्षबीच संवाद हुनुपर्ने खाँचो उनले औँल्याइन् । समस्याको पहिचान गरेर समाधानको प्रतिबद्धता उनले गरिन् । नयाँपुस्तालाई देशभित्रै बस्ने वातावरण निर्माण गर्नु जरुरी रहेको उनले बताइन् ।