बाढी प्रभावित क्षेत्रमा बिरामीको बेहाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बाढी प्रभावित क्षेत्रमा बिरामीको बेहाल


१७ भाद्र २०७४, शनिबार


बाँके । राप्ती सोनारी गाउँपालिका ६ की कुकुरी थारूलाई हनहनी ज्वरो आएको दुई हप्ता बितिसक्यो । न औषधि छ न, घरमा खानेकुरा । घरमा उनीमात्रै होइन, आठैजनाको परिवार सबै बिरामी परेका छन् । कसैलाई खोकीले सताएको छ, कसैलाई ज्वरो आएको छ अनि कसैको शरीर चिलाउने रोग छ ।

केही दिनअघि राप्तीमा आएको बाढीले उनको घर बगायो । सरकारले राहत भन्दै सात दिनपछि ४० किलो चामल दिएको थियो । त्यो पनि सकियो छ । एउटा त्रिपाल टाँगेर अहिले उनीहरू त्यसैमा दिन काटिरहेका छन् । उनीमात्रै होइन, बाढी प्रभावित क्षेत्रका सबैजसो पीडितलाई अहिले भाइरल ज्वरो अनि रुघाखोकी र शरीर चिलाउने रोगले सताउन थालेको छ ।

बाढी पसेपछि गाउँभरिका धारामा पानी आउन छाडेको छ । ह्यान्ड पाइप बगाएको छ भने बाढीले हिलोमा डुबाइदिएको छ । अहिले जताततै पिउने पानीको अभाव छ । दूषित पानीको प्रयोग अनि बाढीमा पुरिएर मरेका पशुपक्षीको दुर्घन्धका कारण अहिले प्रभावित बस्तीमा संक्रमण फैलिन थालेको स्वास्थ्यकर्मी बताउँछन् ।

राप्ती सोनारी ७ ढलैयाकी रकजकुमारी चौधरीको पनि ब्यथा उस्तै छ । गाउँमा भएका स्वास्थ्यचौकीमा पर्याप्त औषधि छैन । समयमै उपचार पाउन उनीजस्ता सबैजसो बिरामीलाई उत्तिकै सास्ती छ । बाढीले गाउँभरिको बाटो अनि पुल भत्काइदिएपछि यातायात सहज तरिकाले चल्न सकेको छैन । ‘घरमा सबै बिरामी छन्, बाढीले घरसँगै सबै अनाज पनि बगायो, खाने केही छैनु, उनी भन्छिन्, ‘छिमेकीले खान दिइरहेका छन्, सरसापट गरेर औषधि गर्‍यो, सन्चो हुँदैन ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस